रोस्टरमा रहेकाको श्रम करार आउन समय लाग्ने

Koriya-Nepalकाठमाडौं, २९ माघ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियन भाषा परीक्षा उत्तीर्ण गरी प्रतीक्षा सूचीमा रहेकाको श्रम करार (लेबर कन्ट्रयाक) आउन अझै केही समय लाग्ने भएको छ । रोजगारदाताले फेब्रुअरीको सुरुबाट माग पठाउने तयारी गरे पनि रोस्टरमा रहेका कामदारले श्रम करारका लागि अझै एक साता बढी कुर्नपर्ने भएको हो ।

इपिएसका अनुसार काममा मौसम भर्खर सुरु भएकाले श्रम करार आउन अझै एक साता लाग्ने छ । इपिएसका निर्देशक नारायण थापाले कोरियाले रोस्टरमा रहेका कामदारका लागि अब एक सातापछि लेबर कन्ट्रयाक पठाउने बताए । ‘फेब्रुअरी १५ पछि मात्र कामदारको श्रम करार आउन थाल्ने छ,’ उनले भने, ‘मार्च महिनामा सबैभन्दा बढी कामदारको माग आउने भएकाले पनि केही ढिला भएको हो ।’
रोजगारदाताले कामको मौसम सुरु भएपछि मात्र कामदारको माग पठाउने भएकाले पनि रोस्टरमा रहेकाले गत वर्षभन्दा बढी समय कुर्न परको उनको भनाइ छ । विगतमा भने जनवरी पहिलो साताबाटै रोस्टरमा रहेका कामदारका लागि रोजगारदाताले माग पठाउन सुरु गर्थे । तर, माग आउन सुरु गरेपछि भने रोस्टरमा रहेकाले रोजगारीमा जान धेरै कुर्न नपर्ने इपिएसले जनाएको छ ।
सन् ०११ मा भएको भाषा परीक्षा उत्तीर्ण गरी सन् ०१२ मा रोजगारीमा जान बाँकी रहेका कामदारका लागि कोरियाले श्रम करार पठाउने हो । इपिएस शाखाका अनुसार भाषा परीक्षा उत्तीर्ण भएर सबै प्रक्रिया पूरा गरेका करिब १० हजार अहिले प्रतीक्षा सूचीमा छन् । कोरियाले ०११ मा सञ्चालन गरेको भाषा परीक्षामा १५ हजार बढी उत्तीर्ण भएका थिए । त्यसमध्ये ०१२ मा ५ हजार सन् ०१२ मै रोजगारीमा गइसकेका छन् । इपिएसका अनुसार गत वर्ष भने पाँच हजार तीन सय जनाको श्रम करार आएकामा आठ सयजना कृषि क्षेत्रमा र बाँकी अन्य क्षेत्रमा रोजगारीका लागि गएका छन् ।
हालसम्म इपिएसमार्फत कोरिया जानेको संख्या १४ हजार पाँच सय बढी पुगेको छ ।
रोजगारदाता मुलुक कोरियाले सन् ०१२ का लागि छुट्याएको कामदार कोटा पूरा भएकाले गत पाँच हजार बढी कामदार कोरिया जान सकेनन् । गत वर्ष कोरियाले विभिन्न १५ मुलुकका लागि ५७ हजार कामदार कोटा छुट्याएको थियो । यसमध्ये नेपालबाट ६ हजार कामदार लैजाने तयारी रोजगारदाता मुलुकको भए पनि पाँच हजार बढी जान नसकेको इपिएसले जनाएको छ ।
कोरियाले सन् २००७ मा भएको श्रम सम्झौतापछि सन् २००८ मा पहिलोपटक लिएको भाषा परीक्षामा ६ हजार पाँच सय ८६, सन् ०१० मा चार हजार ९६ र सन् ०११ मा १५ हजार बढी कामदारलाई रोस्टरमा राखेको थियो । सन् ०११ मा भएको तेस्रो भाषा परीक्षामा उत्तीर्णमध्ये करिब ६ हजार जनाको लेबर कन्ट्रयाक पठाएकोमा पाँच हजार पाँच सयजना रोजगारीमा गइसेकको इपिएस शाखाले जनाएको छ ।
ठूलो संख्यामा गत वर्षको भाषा परीक्षा उत्तीर्ण कामदार रोस्टरमा रहने भएपछि सन् ०१३ का लागि भने कोरियाले नेपालमा भाषा परीक्षा सञ्चालन नगर्ने भएको छ । यद्यपि सन् ०१४ लागि भने आगामी जुलाईमा कोरियन भाषा परीक्षा सञ्चालन गर्ने तयारी कोरियाको छ ।
२००७ अघि निजी क्षेत्रबाट पनि कामदार कोरियामा रोजगारीका लागि जाने गरेका भए पनि म्यानपावर कम्पनीले जथाभाबी रकम उठाउन थालेपछि अहिले इपियस प्रक्रियाबाहेक कामदार कोरिया जान पाउँदैनन् । यस्तै, यसअघि कोरिया गई गैरकानुनी रूपमा बसी फर्केका, विभिन्न अभियोग लागेका व्यक्ति पनि रोजगारीमा जान पाउँदैनन् । कोरियामा रोजगारीमा जाने कामदारले मासिक ८० हजारको हारहारी पारिश्रमिक पाउँछन् ।

प्रतिक्रिया