दाहालले बोली फेरे

Prachandaकाठमाडौं, २८ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आºनो पार्टीको महाधिवेशनबाट बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाउने निर्णय नगरेको बताएका छन् । राष्ट्रपति यादवले डाकेको शीर्ष नेताहरूको छलफलमा अध्यक्ष दाहालले सामान्य विकल्पका रूपमा मात्रै आफूले त्यस्तो प्रस्ताव गरेको प्रस्ट पारे ।

‘छलफलका क्रममा प्रचण्डजीले त्यस्तो प्रस्ताव पार्टीबाट पारित नगराएको बताउनुभयो,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सौर्यसँग भने, ‘प्रचण्डबाट राजनीतिक पार्टीबीच नै सहमति गरी निकास निकाल्नुपर्छ भन्ने कुरा आएको छ ।’ दाहालले छलफलमा जसरी पनि जेठमै चुनाव गर्न तयार रहेको बताएका थिए । तर, कांग्रेस उपसभापति पौडेलले विभिन्न बहानाबाजीमा एमाओवादीले अड्काउने मात्रै कुरा गरेकाले तत्काल निकासको अर्को बाटो नभएको बताए ।
राष्ट्रपतिसँगको भेटपछि शीर्ष नेताहरू दुई दिनपछि पुन: दलीय सहमतिको प्रयास गरी आउने भन्दै बाहिरिएका थिए । ‘दुई दिन राजनीतिक संकट निकासको विकल्पबारे छलफल गरी आउँछौँ भनेका छाँै,’ पौडेलले भने ।
एमाले नेता केपी शर्मा ओलीले दलहरूको विकल्पमा प्रधानन्यायाधीशलाई जिम्मा लगाउने कुराले न्यायपालिका र राजनीतिक दलबीच सन्तुलन नहुने बताए । ‘प्रधानन्यायाधीशलाई जिम्मा लगाउने कुरा हुनै सक्दैन,’ ओलीले भने, ‘दलीय सहमति कायम गरेर जानुको विकल्प छैन ।’
लामो समयसम्म दलीय सहमति नजुट्दा गलत सन्देश गएको भन्दै राष्ट्रपतिले जेठभित्रै चुनाव गराउने गरी तत्काल सहमति गर्न दबाब दिएका थिए । विपक्षी दलको सरकारीविरोधी प्रथम चरणको आन्दोलन र एमाओवादीको हेटांैडा महाधिवेशन सकिएलगत्तै उनले शनिबार शीर्ष दलका नेतालाई शीतलनिवास बोलाएका हुन् । विपक्षी दलले वर्तमान सरकारको सबैभन्दा ठूलो साझेदार दल एमाओवादीले अनेक बहानामा सत्तालाई लम्ब्याई चुनाव टारेको आरोप लगाइरहेका छन् ।
सत्तापक्षले सहमति र चुनाव नचाहेको भन्दै विपक्षी कांग्रेस, एमालेसहित ९ दलले माघ ६ गतेदेखि दैलेखबाट आन्दोलन थालेका थिए । तर, सरकार समर्थित २१ दल पनि विपक्षी दल नै सहमतिका लागि तयार नभएको भन्दै जनपरिचालनमा छन् ।
राष्ट्रपतिले शीर्ष नेताहरूलाई रात्रिभोजसहितको छलफलका लागि बोलाएका हुन् । शनिबार कांग्रेस–एमालेका नेता दुई दलीय छलफललगत्तै शीतलनिवास पुगेका थिए । राष्ट्रपति डा. रामवरण यादवले बोलाएको छलफलमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, एमालेबाट अध्यक्ष झलनाथ खनाल, केपी ओली र मधेसी मोर्चाको तर्फबाट विजयकुमार गच्छदार र महन्थ ठाकुर सहभागी थिए । राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि मंसिर ८ देखि माघ २ गतेसम्ममा पटक–पटक तोकेर समय दिएका थिए ।

प्रतिक्रिया