गाडीको नम्बर प्लेटमा कडाइ

काठमाडौं : तपार्इंको गाडीको नम्बर प्लेट अस्पष्ट, स्क्रयाच अथवा मापदण्डविपरीत छ भने होस पुर्‍याउनुस् । जुनसुकै बेला पनि ट्राफिक प्रहरीले तपाईंलाई नियन्त्रणमा लिन सक्छ । नम्बर प्लेट स्पष्ट नभएका गाडी आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावनालाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार त्यसविरुद्धको कारबाही अभियान थालेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा व्यवस्था भएअनुसार त्यही ढाँचाअनुरूपको नभएका नम्बर प्लेटका गाडीविरुद्ध काठमाडौं उपत्यकामा चेकजाँच तथा कारबाही अभियान थालिएको महाशाखाले जनाएको छ । दुईपांग्रे र चारपांग्रे सवारीसाधनको चेकजाँचका क्रममा ट्राफिकले एकै दिन आइतबार ४ सय ८७ वटा नियन्त्रणमा लिएको छ । त्यसमध्ये ४ सय १७ वटा गाडीको कागजपत्र कारबाहीका लागि जफत गरिएको छ । यसरी अस्पष्ट, स्क्रयाच र मापदण्डविपरीतका नम्बर प्लेट भएका गाडी दुर्घटनामा परे अधिकांश फरार हुने गरेको पाइन्छ । त्यस्ता गाडीको नम्बर प्लेटको अंक मेटिएका, छोपिएका, सवारीसाधनको कुनै भागले छोपी आधा भाग मात्र देखिने गरेका कारण दुर्घटना गर्ने गाडीलाई सहजै नियन्त्रणमा लिन नसकिने ट्राफिकले जनाएको छ । युवाहरूले चलाउने दुईपांग्रे, अव्यवस्थित तरिकाले चलाउने गाडीमा नम्बर प्लेट अस्पष्ट लेखिएको पाइएको महाशाखाले जनाएको छ । तोकिएको ढाँचामा नम्बर प्लेट नभएको र यस्ता गाडी विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग हुने गरेको अनुसन्धानबाट देखिएको महाशाखाका प्रवक्ता पवन गिरीले बताए । (सौस)

प्रतिक्रिया