चले उच्चमावि, चलेनन् पब्लिक क्याम्पस

चितवन : गाउँमा उच्च मावि खुलेपछि पब्लिक क्याम्पसको आर्थिक अवस्था दयनीय भएको छ । कतिपय क्याम्पसले प्राध्यापक र कर्मचारीलाई पाँच/छ महिनासम्म तलब खुवाउन नसकेको पाइएको छ । समयानुकूल नयाँ कार्यक्रम सञ्चालन गर्नेको अवस्था राम्रो भए पनि परम्परागत ढंगले सञ्चालन भएका पब्लिक क्याम्पसको अवस्था दयनीय बन्दै गएको हो ।
ग्रामीण क्षेत्रमा समेत उच्च मावि खुलेपछि पब्लिक क्याम्पसमा विद्यार्थी घटेका छन् भने सहरमा आउने क्रम पनि घट्दै गएको छ । सहरमा रोजगारी पाउने आशामा आउने विद्यार्थीले प्राविधिक शिक्षा रोजेपछि परम्परागत ढंगले चलेका पब्लिक क्याम्पसमा विद्यार्थीको संख्या घटेको हो । सरकारीका अतिरिक्त निजी उच्चमावि र क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदा पनि पब्लिक क्याम्पस मारमा परेका छन् ।
पब्लिक क्याम्पसमा हुने राजनीतिले पनि विद्यार्थीको आकर्षण घटाएको छ । जसका कारण समयमा विद्यार्थीले शुल्क नतिर्दा प्राध्यापक र कर्मचारीले तलब खान कठिन भएको छ । धेरै पब्लिक क्याम्पसमा तलबका लागि फाराम भर्ने समय कुर्नुपर्ने अवस्था आएको सहिद स्मृति बहुमुुखी क्याम्पस टाँडीका प्रमुख गोकर्ण मल्लले बताए । पब्लिक क्याम्पसले उच्चमावि चलाउन छाडेपछि कठिन भएको उनको तर्क छ । ५५ प्राध्यापक र २२ कर्मचारीलाई मासिक १२ लाख रुपियाँ तलब खुवाउने क्याम्पसमा दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् ।
पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्यसमेत रहेका सप्तगण्डकी क्याम्पसका प्रमुख रामप्रकाश अधिकारी राजनीति हाबी हुँदा समयमा शुल्क नउठेर समस्या भएको बताउँछन् । ८४ प्राध्यापक र ३२ कर्मचारी रहेको सप्तगण्डकी क्याम्पसमा मासिक २५ लाख रुपियाँ खर्च हुने गरेको छ । त्रिभुवन विश्वविद्यालयको नीतिका कारण पनि शुल्क उठाउन कठिन भएको बताइएको छ । ५२ प्राध्यापक र १२ कर्मचारी रहेको मैयाँदेवी कन्या क्याम्पसमा मासिक १० लाख रुपियाँ तलबमै खर्च हुने जानकारी दिँदै प्रमुख कृष्णप्रसाद सापकोटाले तलबको अनुपातमा शुल्क नबढ्दा समस्या भएको उल्लेख गरे । चितवनमा १४ पब्लिक क्याम्पस छन् । तीनै क्याम्पसको छाता संस्था पब्लिक क्याम्पस संघ चितवनका अध्यक्ष डा. हरिहर पोखरेल एक दुईवटा क्याम्पसबाहेक सबैमा आर्थिक समस्या रहेको बताउँछन् । पब्लिक क्याम्पसमा २५ प्रतिशतभन्दा बढी विद्यार्थी घटेको बताउँदै उनले प्राध्यापक कर्मचारी हटाउन नसक्ने र विद्यार्थी घट्दै जाने समस्या पब्लिक क्याम्पसमा रहेको जानकारी दिए ।

प्रतिक्रिया