ऊर्जासचिवद्वारा तामाकोसीमा हस्तक्षेप प्रयास

काठमाडौ, १९ माघ । नेपालकै गौरवपूर्ण आयोजनाका रूपमा लिइने माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ऊर्जा मन्त्रालयले फेरि हस्तक्षेप सुरु गरेको छ । ऊर्जासचिव हरिराम कोइरालाले आºनो अधिकारक्षेत्र नाघेर आयोजनाका निमित्त आयोजना प्रमुख विज्ञान श्रेष्ठसँग स्पष्टीकरण सोध्नुका साथै आयोजनामा अनावश्यक हस्तक्षेप गरेका हुन् ।

यसअघि गत फागुनमा पनि कोइरालाले प्राधिकरणको बोर्ड बैठकमार्फत ऊर्जा मन्त्रालयका तत्कालीन सह–सचिव अर्जुन कार्कीलाई सञ्चालक सदस्य र प्राधिकरणका निर्देशक सुनील ढुंगेललाई आयोजना प्रमुख बनाएपछि विवादका कारण झन्डै तीन महिना आयोजनाको काम प्रभावित भएको थियो । पछि प्राधिकरणले निर्णय फिर्ता लिएपछि आयोजनाको काम दु्रतगतिमा अघि बढिरहेको छ ।
स्वदेशी लगानीमा निर्माण भएको नेपालकै पहिलो र ठूलो ४५६ मेगावाटको उक्त आयोजना निर्वाध अघि बढिरहेका बेला ऊर्जासचिव कोइरालाले आºनो स्वार्थपूर्तिका लागि हस्तक्षेप सुरु गरेका हुन् । यसमा प्रधानमन्त्रीपत्नी हिसिला यमीको समेत स्वार्थ जोडिएको ऊर्जा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
‘आयोजना प्रमुख परिवर्तन गर्नुका साथै आयोजनालाई आºनो तजबिजमा चलाउनका लागि ऊर्जासचिव सक्रिय भएका छन्,’ ऊर्जा स्रोतले भन्यो, ‘प्राधिकरणका केही व्यक्तिको उक्साहटमा र आºनो नियन्त्रणभित्र आयोजनाको काम अघि बढाउन यमीको स्वार्थमा उनी सक्रिय भएका हुन् ।’
आयोजनामा अनावश्यक हस्तक्षेप बढ्न थालेपछि केही दिनअघि आयोजनासम्बद्ध एक कर्मचारीले फेसबुकमा हस्तक्षेपको विरोध जनाएका थिए । उनले फेसबुकमा लेखेका थिए, ‘नेपालको ब्युरोक्रेसीलाई प्रोजेक्ट होइन, पैसा चाहिएको छ, त्यो तामाकोसीबाट सम्भव छैन ।’ पछि तीव्र दबाबपछि उनले सो स्ट्याटस हटाए ।
बिहीबार मन्त्रालयमा भएको समीक्षामा ऊर्जासचिव कोइरालाले नियमित प्रगति प्रतिवेदन नदिएको, क्लेमलगायतबारे समेत मन्त्रालयमा जानकारी नदिएको भन्दै आयोजना प्रमुखलगायत कर्मचारीलाई थर्काएका थिए । समीक्षा बैठकमा सहभागीका अनुसार त्यसपछि अपर तामाकोसी कम्पनीका सञ्चालक सदस्यसमेत रहेका कर्मचारी सञ्चय कोषका प्रमुख कृष्ण आचार्यले ऊर्जासचिव कोइरालालाई कम्पनी स्वायत्त भएकाले ऊर्जा मन्त्रालय वा प्राधिकरणको युनिट नठान्न र अनावश्यक हस्तक्षेप नगर्न भनेका थिए । पहिला विरोधमा उत्रिएका सचिव कोइरालाले अन्त्यमा यु–टर्न हुँदै तामाकोसीको प्रगति सन्तोषजनक रहेको बताए ।
आयोजनाका अनुसार प्रत्येक साता आयोजनाको प्रगति प्रतिवेदन ऊर्जा मन्त्रालयमा बुझाउने गरिएको छ । ‘ऊर्जा सचिवले फेरि आयोजनामा हस्तक्षेपको पुनरावृत्ति गर्न खोजिरहेका छन्, यो आयोजनालाई समयमै बन्न नदिने षड्यन्त्र मात्र हो,’ स्रोतले भन्यो ।
आयोजना स्रोतका अनुसार उनले फेरि आयोजना प्रमुख परिवर्तन गर्नुका साथै मन्त्रालयको नियन्त्रण रहनेगरी निर्देशन र हस्तक्षेप गर्न खोजेका छन् । ‘ऊर्जासचिवले आयोजनाका निमित्त प्रमुखलाई स्पष्टीकरण सोध्ने अधिकार छैन, स्वायत्त कम्पनी भएकाले माथिल्लो तामाकोसीका अध्यक्ष एवं प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवले मात्र स्पष्टीकरण सोध्न सक्छन्,’ आयोजना स्रोतले भन्यो ।
आयोजना स्रोतका अनुसार सचिवले माघ ४ र ८ गते दुईपटक ऊर्जा मन्त्रालयका शाखा अधिकृत पार्वती अर्यालमार्फत स्पष्टीकरण सोध्न लगाएका थिए । सन् २०१५ को मेभित्र सिध्याउने लक्ष्य राखिएको आयोजनाको १६ किलोमिटर सुरुङमध्ये करिब ८ किलोमिटर सम्पन्न भइसकेको छ । आयोजनामा प्रत्येक दिन २५ मिटर सुरुङ खन्ने कार्य भइरहेको छ । पहिलो चौमासिकमा ९३ प्रतिशत मात्र हासिल गरेको आयोजनाको अहिलेको प्रगति ९८ प्रतिशत छ । २०१४ को डिसेम्बरभित्र सुरुङ निर्माण सक्ने आयोजनाको लक्ष्य रहेको निमित्त आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । आयोजनामा सञ्चय कोषको १० अर्ब, टेलिकमले ६ अर्ब तथा लगानी कोष र बिमा संस्थानले २/२ अर्ब लगानी गर्दै छन् भने बाँकी ११ अर्ब ८ करोड प्राधिकरणले लगानी गर्दै छ ।

प्रतिक्रिया