बल्ल हुने भो बाघको एकमुष्ट गणना

tigerकाठमाडौं, १९ माघ । देशभरका बाघको एकमुष्ट गणना पहिलोपटक सोमबारदेखि गरिने भएको छ । यसअघि डिसेम्बर अन्तिम साता थाल्ने भनिएको बाघको एकमुष्ट गणना क्यामेराका कारण ढिलो गरी सुरु गर्न लागिएको हो ।

विदेशबाट क्यामेरा ल्याउन ढिला भएका कारण एकमुष्ट बाघ गणना केही ढिलो गरी सुरु गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् डा. महेश्वर ढकालले बताए । डा. ढकालका अनुसार शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट सुरु हुने गणनामा सहभागिता जनाउने आरक्षका फिल्ड प्राविधिकलाई त्यसअघि दुई दिन तालिम दिइँदै छ । तालिममा बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिकसमेत सहभागी हुने भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा १ फागुनमा गणना थालिने विभागले जनाएको छ । बर्दियालगायत बाघ पाइने सबै क्षेत्रको गणना त्यसै आसपास थालिने र तीन महिनाभित्र फिल्डको काम सकिने डा. ढकालको भनाइ छ । ‘शुक्लाफाँटाबाट उद्घाटन हुने एकमुष्ट बाघ गणना दुई/चार दिन अघि–पछि गरेर बाघ पाइने सबै क्षेत्रमा सुरु हुन्छ र तीन महिनाभित्र फिल्डको काम सकिन्छ,’ उनले सौर्यसँग भने ।
उनका अनुसार अघिल्ला विधिभन्दा फरक एकमुष्ट गणनामा ४ वर्गकिलोमिटर क्षेत्रमा एउटा क्यामेराको दरले बाघ पाइने क्षेत्रमा करिब पाँच सय क्यामेरा जडान गरिनेछ । एउटा क्यामेरा एक ठाउँमा १५ दिन राखिनेछ । वैज्ञानिक रूपमा क्यामेराका लागि निश्चित क्षेत्र छुट्टयाइने र भारतसँगै बाघ गणना गरिने हुँदा यसबाट वास्तविक तथ्यांक आउने उनले बताए ।
गणना पूर्वमा पर्सा वन्यजन्तु आरक्षको रौतहटदेखि चितवन राष्ट्रिय निकुञ्ज, नवलपरासी, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, वसन्ता र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गरिनेछ । निकुञ्ज र आरक्षजस्ता संरक्षित क्षेत्रबाहेक अन्यत्र बाघको सम्भावना भएका क्षेत्रका बासिन्दासँगको कुराकानी र बाघबाट भएका आक्रमणलाई ध्यानमा राखी ती भेगलाई समेत गणनामा समावेश गरिने भएको छ । गणना हुने संरक्षित क्षेत्र र केन्द्रमा सम्बद्ध कर्मचारी खटिने हँुदा गणनाका लागि यकिन संख्या नतोकिएको विभागले जनाएको छ ।
विश्व वन्यजन्तु कोषको आर्थिक तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहेको एकमुष्ट बाघ गणनाको नतिजा बाघ दिवसको दिन सार्वजनिक गरिने भएको छ । विगतमा जस्तो एउटा संरक्षित क्षेत्रमा एक वर्ष र अर्कोमा अर्को वर्ष गरी ग्याप नराखिएकाले एकमुष्ट गणनाबाट पहिलोपटक बाघको वास्तविक तथ्यांक आउने अपेक्षा गरिएको छ । जसबाट सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने लक्ष्य पूरा गर्न सहयोग पुग्ने विभागले जनाएको छ ।
अहिलेसम्म बाघको गणना चितवन राष्ट्रिय निकुञ्जमा सुरुमा, त्यसको दुई वर्षमा बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा र त्यसपछि पर्सा वन्यजन्तु आरक्षमा गरिँदै आएको थियो । पछिल्लोपटकको बाघ गणना पर्सामा सन् २००८, चितवनमा २०१० र बर्दिया एवं शुक्लाफाँटामा २०१२ मा भएको थियो । यसरी फरक–फरक समयमा गणना गर्दा बीचको अवधिमा बाघका धेरै डमरु जन्मिसक्ने, डमरु वयस्क भइसक्ने, वयस्कले सन्तानोत्पादन गरिसक्ने र बूढाखाडा मरिसक्ने हुँदा अघिल्लो र पछिल्लो तथ्यांक मिलाएर तयार गरिएको एकमुष्ट तथ्यांकलाई
भरपर्दो मानिँदैन ।
६० लाख खर्च
एकमुष्ट गणनामा ६० लाख खर्च हुने अनुमान विभागको छ । चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज तथा पर्सा र शुक्लाफाँटा आरक्ष गरी चार क्षेत्रलाई बाघको मुख्य वासस्थान हुन् । सबैभन्दा बढी बाघ चितवनमा छन् । सन् २०१० को गणनामा चितवनमा एक सय २५ वटा बाघ फेला परेका थिए । २००८ मा गणना गरिएको बर्दियाको १८, शुक्लाफाँटाको ८ र पर्सा वन्यजन्तु आरक्षका ४ वटा थपेर बाघको संख्या एक सय ५५ भनिएको थियो । त्यसमा सन् २०१२ मा बर्दियामा बढेको १९ र शुक्लाफाँटामा बढेको २ थपेर एक सय ७६ पुगेको देखाइएको छ ।
फरक–फरक वर्षमा गणना गरिए पनि सबैतिर बढेको बाघको संख्या, वासस्थान सुधार, चोरी–सिकारीमा कमलगायतले अबको गणनाबाट बाघको संख्या थपिने विश्वास गरिएको विभागका प्रवक्ता कमलजंग
कुँवरले बताए ।

प्रतिक्रिया