६ सय मेगावाटको विद्युत् लाइसेन्स खारेज

काठमाडौं, १९ माघ । ऊर्जा मन्त्रालयले दश दिनभित्र ६ सय १० मेगावाटका जलविद्युत् आयोजनाको लाइसेन्स

खारेज गरेको छ । ऊर्जा सचिव हरिराम कोइरालाले ती लाइसेन्स खारेज गर्ने निर्णय गरेका हुन् ।
लाइसेन्स नवीकरण शुल्क र विद्युत् विकास विभागले मागेको विवरण समयभित्र नबुझाएको भन्दै १४ वटा जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गरिएको विद्युत् विकास विभागका वरिष्ठ इन्जिनियर गोकर्णराज पन्थले जानकारी दिए ।
पन्थका अनुसार माघ ९ देखि बिहीबारसम्म ६ सय ११ मेगावाट क्षमताका विद्युत् आयोजनाको लाइसेन्स खारेज गरिएको छ । ३० मेगावाटको सिन्धुपाल्चोकको न्यासिम खोला, ३.२ मेगावाटको काभ्रेको दाप्चा रोसी, ३ मेगावाटको इलामको पुवा झोत्रेलगायत केही आयोजनाबाहेक अधिकांश बढेको शुल्क नतिरेको कारणले खारेजीमा परेका हुन् । यी आयोजनालाई विभागले ३५ दिने सूचना जारी गरी प्रगति विवरण मागेको थियो तर कुनैले पनि बुझाएनन् ।
२१० मेगावाटको फलकोट कर्णाली, १२१ मेगावाटको डोल्पाको ठूलीभेरी, लमजुङको ८६ मेगावाटको मादी सिटी र ५० मेगावाटको मनाङको नारखोला जलविद्युत् आयोजनाको लाइसेन्स पनि मन्त्रालयले खारेज गरेको छ । विभागका अनुसार कास्कीको ३८ मेगावाटको माथिल्लो मादी शून्य, ८.६ मेगावाटको गोर्खाको चेपेखोला, ५ मेगावाटको सोलुखुम्बुको सिसा खोला, २० मेगावाटको तल्लो चमेलिया, ४ मेगावाटको माथिल्लो मोलुङ, ३.६ मेगावाटको मादी खोला र ३० मेगावाटको ठूलीभेरी जलविद्युत् आयोजनाको अनुमतिपत्र पनि मन्त्रालयले खारेज गरेको हो । न्यासिम खोला र दाप्चा रोसीको विद्युत् अनुमतिपत्रको दरखास्त खारेज गरिए पनि तीबाहेकका आयोजनाको उत्पादनको सर्भेक्षण अनुमतिपत्र खारेज गरिएको हो ।
बढेको शुल्क तिरेर र समयममै विवरण बुझाएर नवीकरण गर्नका लागि पटकपटक सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेकाले लाइसेन्स खारेज गरिएको विभागका महानिर्देशक अनुपकुमार उपाध्यायले जानकारी दिए । ‘पटकपटक विभागले मागेको विवरण दिन र शुल्क बढेको तिरेर नवीकरण गर्न सूचना निकाल्दा पनि नआउने आयोजनाको लाइसेन्स खारेज गरिएको हो,’ उपाध्यायले भने ।
निजी क्षेत्रका प्रवद्र्धकहरुले आफ्नो झोला खोलामा परेको र सरकारले खोला झोलामा राखेर ओगटेको विवाद चलिरहेका बेला विभागले लाइसेन्स खारेजीलाई तीव्रता दिएको हो ।
खारेजीमा परेका केही ठूला आयोजना
नाम क्षमता (मेगावाट)
फुलकोट कर्णाली २१०
ठूली भेरी १२१
न्यासिम खोला ३०
ठूली भेरी ३०
तल्लो चमेलिया २०
नारखोला ५०
मादीसिटी ८६

प्रतिक्रिया