दलहरूद्वारा गोष्ठी बहिष्कार

बाग्लुङ, १७ माघ । बाग्लुङको इलाका नम्बर–५ को इलाकास्तरीय गोष्ठी स्थानीय राजनीतिक दलले बहिष्कार गरेका छन् । आर्थिक वर्ष ०७०/७१ का लागि इलाकास्तरीय योजना तर्जुमा गर्न गोष्ठी बोलाइएको हो ।

जिल्ला विकास समितिले मालढुंखादेखि कुस्मीसेरासम्मको सडक सुधार गर्ने प्रतिबद्धता जनाए पनि काम नगरेको भन्दै नारायणस्थानमा गरिएको गोष्ठी दलहरूले बहिष्कार गरेका हुन् । गोष्ठी अनिश्चित बनेको छ ।
जिविसअन्तर्गत रहेको विकेन्द्रित ग्रामीण पूर्वधार तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलिप)ले मोटरबाटो सुधार तथा विस्तार गर्ने जिम्मेवारी लिएको भए पनि हालसम्म काम सुरु नगरेकाले गोष्ठी बहिष्कार गरेको नेकपा (एमाले)का प्रतिनिधि खेमप्रसाद पाठकले जानकारी दिए ।
एमाओवादी, नेपाली कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), नेकपा (एकीकृत), राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय जनशक्ति पार्टीले सडक विस्तारको काम सुरु नभएसम्म गोष्ठी सुचारु हुन नदिने निर्णय गरेको पाठकले बताए ।
जहिलेसुकै आफूहरूलाई झुक्याउने काम मात्र गरेकाले सडक विस्तारमा दबाब दिन गोष्ठी गर्न नदिइएको एमाओवादीका भोजराज आर्चायले जानकारी दिए । तर, नेकपा–माओवादीले भने गोष्ठी हुनुपर्ने अडान राखेको थियो ।
राजनीतिक दलहरूले विगतमा भएको सम्झौताअनुरूप काम हुने निश्चित नभएसम्म गोष्ठी सञ्चालन हुन नदिने बताएका छन् ।
सर्वदलीय बैठकले गत कात्तिकमा सडक सुधार विस्तारका लागि चार लाख रुपियाँ विनियोजन गरेको थियो । जिविसले मोटरबाटो सुधार तथा विस्तारका लागि समिति गठन गर्नु भनेर पठाएको पत्रअनुरूप समिति गठन गरी जिल्ला विकास समितिमा पुग्दा समितिको आवश्यकता नरहेको र ड्रिलिपले काम गर्ने भन्दै फिर्ता पठाएपछि सडक निर्माणकार्य ठप्प भएको स्थानीयको भनाइ छ । मालढुंखा कुस्मीसेरा सडक खण्डमा जिप तथा बसहरू चल्ने गर्दछन् । बस सञ्चालनका लागि सडक अत्यन्त साँघुरो भएकाले त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
स्थानीय राजनीतिक दलले गोष्ठी बहिष्कार गरेपछि गोष्ठीमा गएका योजना अधिकृत प्रेम सापकोटासहितको टोली फिर्ता भएको छ । ‘राजनीतिक दलहरूले गोष्ठी बहिष्कार गर्नुभयो,’ अधिकृत सापकोटाले भने, ‘जिल्लास्तरीय बैठकले काम हुने निश्चित गरे मात्र गोष्ठी हुने अवस्था आएको छ ।’ यस विषयमा जिल्लास्तरीय छलफल बोलाइने उनको भनाइ छ ।
विगतमा जिल्ला विकास समितिले चार लाख, प्रभावित गाविस, भकुन्डे, नारायणस्थान, कुस्मीसेरा, पैँयुपाटा र अमलाचौरले ५०–५० हजार, राङखानी, सर्कुवा, बिनामारे, दमेक, पैँयुथन्थापलगायत गाविसले २५–२५ हजार र बस तथा जिप व्यवसायी समितिले १–१ लाख रुपियाँ संकलन गरेर मोटर बाटो सुधार तथा विस्तार गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया