“हिम्मत भए चुनावमा जाऔँ”

Prachandaकाठमाडौं, १७ माघ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरू १५ जेठभित्र संविधानसभाको नयाँ चुनाव गराउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् । चुनावबाट जनताले जसलाई जिताउँछन् उसैलाई स्वीकार गर्नुपर्ने दाहालको भनाइ छ ।

‘जनतामा जाने हिम्मत छ भने चुनावमा जाऔँ, जनताले जसलाई जिताउँछन् त्यसलाई स्वीकार गरौँ,’ मंगलबजारमा मंगलबार एमाओवादी ललितपुरको सातौँ जिल्ला अधिवेशनको उद्घाटनपछि अध्यक्ष दाहालले भने, ‘होइन भने गैरराजनीतिक व्यवहार प्रदर्शन गरेर दुनियाँ हँसाउने काम नगरौँ ।’
दाहालले ‘एकाध मान्छे’ले ढुंगा हानेकै भरमा जनताको परिवर्तनको चाहना नरोकिने र एमाओवादीले सरकार नछाड्ने बताएका छन् । महाधिवेशन भाँड्न विपक्षी दलले एक दर्जनको हाराहारीमा मान्छे पठाएर फासीवादी चरित्र देखाएको आरोप उनले लगाए ।
आफूलाई लोकतन्त्रवादी बताउने दलहरूले प्रदर्शन गरेको व्यवहारका कारण केही वर्षपछि उनीहरूको अस्तित्व इतिहासको पानामा मात्रै खोज्नुपर्ने अवस्था आउने चेतावनी दिँदै दाहालले धम्की दिएर होइन, सहमतिमा आएर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताए । कांग्रेस र एमालेले सहमति नचाहेको आरोप लगाउँदै उनले सहमति कायम गर्ने हो भने तत्काल सहमतिमा आएर चुनाव गर्नेतर्फ लाग्नु नै अहिलेको आवश्यकता रहेको बताए ।

प्रतिक्रिया