थापा हत्याका अभियुक्तविरुद्ध मुद्दा दर्ता

Dailekhदैलेख, १६ माघ । पत्रकार डेकेन्द्रराज थापाको हत्याका अभियुक्तविरुद्ध जिल्ला अदालत दैलेखमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको छ । द्वारी–१ का ४५ वर्षीय लक्षीराम घर्ती, रानीवन–१ लामीडाँडाका ६० वर्षीय जयबहादुर शाही, बालुवाटार–७ का ४२ वर्षीय वीरबहादुर केसी, सोही गाविस–९ का ४१ वर्षीय नीरकबहादुर घर्ती मगर र द्वारी–३ का ५० वर्षीय हीरालाल पुनमगर, छिउडी पुसाकोट बमबहादुर खड्का मुक्ति, केशबहादुर खड्का र द्वारी–१ का भक्ति लामिछानेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

मुद्दा दर्ता गरिएका नौविरुद्ध सर्वस्वसहित जन्मकैद माग गरिएको छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले नौविरुद्ध मुद्दा दर्ता गरेको हो । द्वन्द्वका समयमा नेकपा (माओवादी)का कार्यकर्ताद्वारा थापाको हत्या गरिएको थियो । दैलेख सदरमुकाममा आउने खानेपानीको पाइप लाइन काटेपछि ०६१ असारमा तत्कालीन माओवादीले खानेपानीको विवाद मिलाउन बोलाइएका रेडियो नेपालका संवाददाता थापालाई १२ असारमा अपहरण गरेर २७ साउनमा ४५ दिनपछि हत्या गरेका थिए ।
१८ पुसमा पुनरावेदन अदालत सुर्खेतले जिल्ला प्रहरी कार्यालय दैलेख, सरकारी वकिल कार्यालय र सिडिओ कार्यालय दैलेखलाई प्रतिवादी बनाउँदै पत्रकार थापा हत्याकाण्डबारे के–कति कारणले किटानी जाहेरीमाथि अनुसन्धान गर्न नसकेको भन्दै १५ दिनभित्र अनुसन्धान गरेर तत्काल कारबाही अगाडि बढाउन परमादेश जारी गरेको थियो । एक महिनाअघि नेपाल पत्रकार महासंघ क्षेत्रीय समन्वय समितिको सहयोगमा पत्रकार थापाकी पत्नी लक्ष्मी थापाले पुनरावेदन अदालतमा पुन: रिट निवेदन दर्ता गराएकी थिइन् ।
द्वन्द्वका क्रममा भएका हत्याका आरोपीलाई पक्राउ नगर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बयान नलिन सार्वजनिक अभिव्यक्ति दिएपछि बयान लिन अप्ठयारो परेको थियो । महान्यायाधिवक्ता मुक्ति प्रधानले सरकारी वकिललाई बयान नलिन लिखित पत्र पठाएलगतै केही समय बयान रोकिएपछि दैलेखवासीले प्रधानमन्त्री र महान्यायाधिवक्ताविरुद्ध आन्दोलनको घोषणा गरेका थिए । प्रधानमन्त्रीले लोकतन्त्रको घाँटी निमोठेको भन्दै दैलेखबाट नै तेस्रो जनआन्दोलनको उद्घोष गरेका थिए ।
अपहरणपछि हत्या गरिएका थापाको शवसमेत माओवादीले बेपत्ता पारेका थिए । नेपाल पत्रकार महासंघ शाखा कार्यालय दैलेखको पहल र मानवअधिकारवादीको सक्रियतामा ०६४ भदौमा थापाको शव उत्खनन् गरेर पीडित परिवारलाई दिइएको थियो ।
थापाको दाहसंस्कारपछि पत्नी लक्ष्मीले कट्टिका बमबहादुर खड्का (मुक्ति), छिउडीपुसाकोटका केशवबहादुर खड्का, बमबहादुर खड्का र द्वारीका लक्षीराम घर्ती मगरविरुद्ध १४ भदौ ०६४ मा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी दिएको पाँच वर्ष बित्दा पनि स्थानीय प्रशासनबाट काम नभएपछि दैलेखका पत्रकार केही महिनाअघि आन्दोलनमा उत्रेका थिए ।

प्रतिक्रिया