सबैभन्दा महँगो औषधि

1संसारमा केही यस्ता रोग छन्, जो थोरै मान्छेलाई मात्र लाग्छन् । यस्तो बिमारका लागि औषधि पनि विशेष हुन्छन् । अनि तिनको मूल्य पनि त्यस्तै विशेष हुन्छ, साह्रै महँगो ।
स्कटल्यान्डकी नागरिक लेसलीलाई प्याराक्सीसमल नक्टरनल हेमोग्लोबिनरिया (पीएनएच) नामक रोग लागेको छ । कम मान्छेलाई लाग्ने गरेको यो रोगका लागि सोलिरिस नामको औषधि खानुपर्छ । यो औषधिको एक वर्ष सेवन गरिने परिमाणको मूल्य मात्र २ लाख ५० हजार पाउन्ड छ । अर्थात्, नेपाली रुपियाँ साढे दुई करोडभन्दा बढी हुन्छ । यसलाई दुनियाँकै सबैभन्दा महँगो औषधि मानिएको छ ।
औषधि उत्पादक कम्पनी एलिक्सन यो औषधिको मूल्य न्यायसंगत भएको बताउँछ, ‘किनकि यो औषधि बनाउँदा कम्पनीले नै निकै पैसा खर्च गर्नुपर्छ, जोखिम पनि उत्तिकै मोल्नुपर्छ ।’ कम्पनीका अनुसार सोलिरिस उत्पादन हुनुपहिले पीएनएच रोगले ग्रस्त हुनेमध्ये एक तिहाइको मृत्यु पाँच वर्षभित्रै हुने गरेको थियो । तर, अहिले त्यस्तो छैन । युरोपमा ६० भन्दा बढी दुर्लभ बिमारीका लागि बनाइएका औषधि छन् तर सोलिरिसजत्तिको महँगो भने कुनै छैन । यद्यपि यस्ता महँगा औषधिको उद्योग बढी कमाउने उद्योगमा दरिएका छन् । दुर्लभ बिमारीको औषधि पत्ता लगाउन गरिने शोध वा अनुसन्धान नै खर्चिलो हुने भएकाले औषधिको मूल्य पनि महँगो परेको उत्पादक कम्पनी बताउँछ । (एजेन्सी)

प्रतिक्रिया