सडक अवरुद्ध पारेर चन्दा असुली

धनकुटा, १४ माघ । एमाओवादीको सातौँ राष्ट्रिय महाधिवेशन तथा जिल्ला अधिवेशनका लागि उक्त पार्टीका कार्यकर्ताले कोसी राजमार्गमा सञ्चालित सवारी साधनबाट चन्दा असुली

गरेका छन् ।
पार्टीको तुलव्यानर र झन्डासहित सडक अवरुद्ध गरेर बसेका एमाओवादी कार्यकर्ताले शनिबार कोसी राजमार्गअन्तर्गतको धरान–धनकुटा सडकखण्डमा निजी तथा सार्वजनिक यातायातका साधनबाट चन्दा असुलेका हुन् । उनीहरूले धनकुटा–७ जिरोप्वाइन्टस्थित ट्राफिक चौकमा बिहानै चन्दा संकलन सुरु गरेपछि ट्राफिक प्रहरीले त्यसरी चन्दा नउठाउन आग्रह गरेको थियो । त्यसपछि पुन: वडा नम्बर ६ स्थित फोक्लेनटापुमा गएर उस्तै गरी उनीहरूले चन्दा असुली गरेको पाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवकुमार शर्माले बताए ।
सरकारकै नेतृत्व गरेको दलका कार्यकर्ता कानुन उल्लंघन गरी सडकमा डोरी टाँगेर रकम असुल्नु गैरजिम्मेवार र लज्जास्पद कार्य भएको सिडिओ खड्गबहादुर चापागाईंले बताए । उक्त घटनाको जानकारी पाएलगत्तै राजमार्गमा तुलब्यानर टाँगेर चन्दा असुली गर्ने कार्य बन्द गराउन मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको जानकारी सिडिओ चापागाईंले दिए । उनका अनुसार सो पार्टीका जिल्ला संयोजक हेमराज भण्डारीलाई चन्दा असुली बन्द गर्न आग्रहसमेत
गरिएको छ ।
एमाओवादी जिल्ला संयोजक भण्डारीले भने आफूहरूले ढाट राखेर चन्दा असुली गरेको नभई कार्यकर्ताले सवारी साधनबाट स्वेच्छिक चन्दामात्र संकलन गरेको प्रतिक्रिया दिए । महाधिवेशन सम्पन्न गर्न गठित आर्थिक समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले भने राजमार्गमा व्यानरै राखेर चन्दा संकलन गरिरहेको बताए । फोक्लेनटापुमा आफ्नो नेतृत्वमा ब्यानर राखेर स्वेच्छिक रूपमा रकम संकलन गरिएको उल्लेख गर्दै कसैलाई जबरजस्ती नगरिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया