गोर्खामा नयाँ सेयरधनीको प्रस्ताव आह्वान

Nepal-Rastra-Bankकाठमाडौ, १२ माघ । नेपाल राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको गोर्खा विकास बैंकले नयाँ सेयरधनी प्रवेश गराउने सूचना जारी गरेको छ । बैंकले राष्ट्रियस्तरका दैनिक पत्रिकामा सार्वजनिक सूचना जारी गरेर नयाँ सेयरधनी प्रवेश गराउने प्रस्ताव आह्वान गरेको हो । समस्याग्रस्त अवस्थामा रहेको बैंकको पुँजीकोष पर्याप्त बनाउन तथा अहिले कायम संस्थापकको सहभागिता कम गर्न नयाँ संस्थापक सेयरधनी खोजिएको सूचनामा उल्लेख छ । बैंकले राष्ट्र बैंकले संस्थापक हुन तोकेको आधारबमोजिम सेयरका लागि ३५ दिनभित्र प्रस्ताव मागेको छ ।

राष्ट्र बैंकले गत महिनाको १९ गते लागू हुने गरी गोर्खा विकास बैंकको व्यवस्थापन जिम्मा लिएको थियो । बैंकमा उपनिर्देशक विश्रुत थापाको नेतृत्वमा तीन कर्मचारी खटाइएको छ । थापाको टोलीमा उपनिर्देशक मुक्ति सापकोटा र सहायक निर्देशक अशोक राई छन् । टोलीलाई बैंक सुधार गर्ने ६ महिनाको समयसीमासहित व्यवस्थापनको जिम्मा दिइएको हो । बैंकमा अहिले संस्थापकको ५७ प्रतिशत, सर्वसाधरणको ३० प्रतिशत र अन्यको १७ प्रतिशत सेयर छ । पूर्वगोर्खालीहरूको समूहले प्रवद्र्धन गरेको यो बैंकमा वैदेशिक रोजगार व्यवसायी निर्मल गुरुङ र सेयर खेलाडी राकेश अडुकियाको ठूलो लगानी छ ।
बैंकमा अहिले ६६ करोड रुपियाँको सेयर छ । राष्ट्र बैंकले नयाँ संस्थापकलाई ३० प्रतिशत बढी सेयर दिन खोजिरहेको छ । सञ्चालकको विवादका कारण खराब कर्जा बढेपछि डेढ वर्षअघि राष्ट्र बैंकले हस्तक्षेप गरेर गोर्खालाई समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा गरेको लामो समयसम्म पनि बैंकमा सुधार नआएपछि राष्ट्र बैंकले व्यवस्थापन जिम्मा लिएको हो । एनबी बैंकपछि निजी क्षेत्रका बैंकमा राष्ट्र बैंकले व्यवस्थापन सम्हालेको यो दोस्रो बैंक हो ।

प्रतिक्रिया