निर्णायक कदम चाल्नुस्

Rambaran_Yadavकाठमाडौं, १२ माघ । राष्ट्रपति डा. रामवरण यादवले दलहरूबीच सहमतिविना निकास सम्भव नभएकाले सहमतिकै पहल गर्न कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाललाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार कोइराला र खनालसँग छुट्टाछुट्टै भेटमा उनले सहमतिबाहेक अर्काे विकल्प नभएको बताए ।

सहमतिका लागि हुने वार्ता स्थगित गरी सत्ता र प्रतिपक्षी दलहरू सडक प्रदर्शनमा केन्द्रित भएका बेला राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापति कोइरालाले संविधानको संरक्षकका हैसियतले राष्ट्रपतिले निकासका लागि निर्णायक कदम चाल्न सुझाव दिए ।
‘संविधानको संरक्षकका हैसियतले राजनीतिक गतिरोधले निकास पाओस् भन्ने चाहना राष्ट्रपतिमा छ,’ भेटपछि कांग्रेस सभापति कोइरालाले भने, ‘राष्ट्रपति मुलुकको संकटप्रति चिन्तित हुनुहुन्छ, संविधानको संरक्षकका हिसाबले संवैधानिक संकटप्रति चिन्ता जाहेर गर्नुभएको छ ।’ दलहरूबीच निकासका लागि गम्भीर सहमति हुनुपर्ने भए पनि आ–आफ्ना आन्दोलनको तयारीमा लागेकोप्रति राष्ट्रपतिले असन्तुष्टि जनाएका थिए । ‘दलहरूबीच सहमतिको विकल्प छैन, सम्पूर्ण समस्याको समाधान सहमतिबाट मात्र सम्भव छ,’ राष्ट्रपति यादवको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सहमति जुटाएर चुनाव सुनिश्चित गर्ने दिशातिरै लाग्नुस्, योभन्दा अर्काे बाटो छैन ।’
कांग्रेस सभापति कोइरालाले एमाओवादीका कारण सहमतिको राजनीतिक वातावरण बिग्रँदै गएको बताएका थिए । दलहरू लामो प्रयास गरी सहमतिनजिक पुगेपछि पहिले भएका सहमतिलाई पनि भाँड्नेगरी एमाओवादीले नयाँनयाँ प्रस्ताव ल्याएर अल्झाउने गरेको कोइरालाले गुनासो गरेका थिए । कोइरालाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विगतमा भएका सहमतिलाई समेत च्यातेर सर्वसत्तावादी बाटोमा अघि बढ्ने चिन्ताजनक कुराहरू पनि आएका छन् ।’
राष्ट्रपतिसँगको भेटमा एमाले अध्यक्ष खनालले आफूहरू सहमतिमै राजनीतिक संकटको समाधानमा केन्द्रित भए पनि सत्ता पक्षले त्यसलाई कमजोरी ठानेर सर्वसत्तावादी बाटो लिएको बताएका थिए । खनालले पनि राष्ट्रपति यादवलाई संविधानको संरक्षकका हैसियतले उपयुक्त भूमिका निर्वाह गर्न सुझाव दिएका थिए । ‘राष्ट्रपति मुलुकको अवस्थासँग ज्यादै चिन्तित हुनुहुन्छ,’ खनालले सौर्यसँग भने, ‘मुलुकको पछिल्लो अवस्थाबारे मैले पनि राष्ट्रपतिलाई संविधानले दिएको जिम्मेवारीभित्र रहेर संरक्षकको भूमिका निर्वाह गर्न सुझाव दिएको छु ।’

प्रतिक्रिया