पन्ध्र वर्षको उमेरमा पहिलो भाषण गरेँ

Dhanraj-Gurungसानैदेखि विद्रोही स्वभावको थिएँ । कुनै कुरा गर्न हिचकिचाउँदैनथेँ । स्याङ्जाको दहथुमा पढ्थेँ । स्कुल पढ्दादेखि नै नेपाल विद्यार्थी संघको सम्पर्कमा पुगेँ । ९ कक्षा पढ्दा नेविसंघको स्कुल समिति सभापति थिएँ । पढाइसँगै स्कुलमा हुने अतिरिक्त क्रियाकलापमा सधैँ सहभागी हुन्थेँ । हाजिरीजवाफ, वतृत्वकलाजस्ता प्रतियोगिता भइरहन्थे । तिनमा सहभागी भइरहने भएकाले मलाई बोल्ने कुरामा धक लाग्दैनथ्यो । मासका अगाडि पनि आफ्ना कुरा निर्धक्क राख्न सक्थेँ ।

एक दिन स्कुलमा विद्यार्थी संगठनको भेला थियो । सभापति भएका नाताले मैले पनि भाषण गर्नुपर्ने भयो । उतिबेला कोठे राजनीति हुन्थ्यो, खुल्ला राजनीति प्रतिबन्धित थियो । कोठामा पच्चीस/तीस जना विद्यार्थी थिए । म भने पन्ध वर्षे फुच्चे । जिन्दगीमै पहिलोचोटि भाषण गर्नुपरे पनि तयारी भने गरेको थिएँ । अहिलेजस्तो नोटबुक पाइँदैनथ्यो । कुनकुन विषयमा बोल्ने भनेर कपीको पानामा बुँदा टिपेको थिएँ ।
उतिबेला संगठन निर्माण गर्नु नै चुनौती थियो । उत्कृष्ट वतृत्वशैलीले पनि त्यसमा महत्त्वपूर्ण भूमिका खेल्न सक्थ्यो । भूमिगत रूपमा संगठन निर्माण गरेर राजतन्त्रविरुद्ध परिचालन गर्नु थियो । त्यो कार्यक्रममा मैले राजतन्त्रविरुद्धमा जमेर बोलँे । तुरुन्तै राजतन्त्र फाले मुलुकको सबै समस्या छुमन्तर हुन्छन् भनेजसरी । निरंकुश राजतन्त्रको दबदबा भएका बेला त्यसैका विरुद्ध बोल्दा सबैले पर्रर्रर्र ताली पिटे । पन्ध्र वर्षे केटाले पाँच–सात मिनेट भए पनि खरर्र बोलेको सुन्दा सबै दंग परे । मासका अगाडि बोले पनि मलाई कुनै असजिलो महसुस भएन । विद्यार्थी नेता खगेन्द्र रेग्मी पनि आएका थिए, उनैले बताए धेरै कुरा त ।
भाषण सकिएपछि साथीहरूले तर्साए– ‘भाषणमा चर्कोचर्को कुरा बोलिस्, पुलिसले समात्ला नि ?’ मलाई भने एकरत्ति पनि डर लागेन । जनतालाई स्वतन्त्रतापूर्वक बोल्न–लेख्न नदिने निरंकुश राजतन्त्र फाल्नै पर्छ भन्नेमा एकचित्त थिएँ । त्यसैकारण साथीहरूको कुराले कुनै त्रास जगाएन । राजतन्त्रका विरुद्ध निरन्तर भाषण गरी नै रहेँ । गोप्य कोठामा हुन्थे सबै सांगठनिक गतिविधि । यो सबै साम्राज्य हाम्रो हो, कसैले केही गर्न सक्दैन जस्तो लाग्थ्यो ।
०४० सालमा स्याङ्जाकै फुलबारीमा नेविसंघको जिल्ला सम्मेलन थियो । त्यो कार्यक्रममा मैले पहिलोपटक खुला चौरमा भाषण गरेँ । हाते माइक थियो, मान्छे पनि तीन सयको हाराहारी थिए । उतिबेला यत्तिका मान्छे जम्मा भएको सभा चानचुने मानिँदैनथ्यो । मंचका वरिपरि मान्छे भएपछि मलाई त झन् जोस पो आयो । करिब बीस मिनेट बोलेँ । ‘जनतालाई बोल्न, लेख्न र सभा संगठन गर्न नदिने निरंकुश राजतन्त्र निर्मूल गर्नुपर्छ’ भनेर हात हल्लाई–हल्लाई भाषण गर्दा यहाँ पनि गतिलैसँग ताली भेटेँ । यसै त युवाजोसमा चर्केर बोल्थेँ, त्यसमाथि माइक थियो । अरू त के चाहियो र ? जति चर्को बोल्यो, राजतन्त्र उति कमजोर हुन्छ भन्ने सोच्दै भाषण दन्काइयो । सबैले ताली पिटेको देख्दा दंग परेँ । सोचेँ– पक्कै राम्रो बोलेछु नत्र किन दर्शकले यसरी ताली बजाउँथे । सो कार्यक्रममा खगेन्द्र रेग्मी, सूर्यप्रसाद रेग्मीलगाएत नेता थिए ।
सम्मेलन सकियो, मलाई सचिवको जिम्मेवारी दिइयो । त्यतिबेला म एसएलसी दिएर बसेको थिएँ । कार्यक्रमपछि सबैले भने, ‘यो गुरुङको छोरो मान्छे भने फुच्चे छ, भाषणचाहिँ गजब गर्दो रहेछ ।’ आत्मबल झन् बढ्यो । भाषण गरीगरी जनतालाई सचेत पार्नुपर्छ र राजतन्त्र फाल्नुपर्छ भन्ने लागिरह्यो । आज राजतन्त्र फालिसकियो । भाषण गर्ने काम निरन्तर चलिरहेकै छ ।
(वार्तामा आधारित)

प्रतिक्रिया