प्रधानमन्त्री विरुद्ध दैलेखमा प्रदर्शन

Dailekha Districtदैलेख, १० माघ । दैलेख जिल्लामा एमाओवादी र विपक्षी दलहरुका समर्थकबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाईते समेत भएका छन् ।
एमाओवादीको जिल्ला सम्मेलनमा भाग लिन दैलेख पुगेका प्रधानमन्त्री बाबुराम भट्टराईको बिरोधमा प्रतिपक्षी दलहरुले जिल्ला बन्द आब्हान गरेका हुन् । विपक्षी दलहरुले जिल्ला प्रबेश गर्ने नाकाहरुमा रुख ढालेर बाटो अबरोध गरेको प्रहरीले जनाएको छ ।
बन्दका क्रममा बन्दकर्ता र एमाओवादीका समर्थकबीच केही समय झडप समेत भएको थियो । झडपका क्रममा रामपुरडाँडा नजिक भुपेन्द्र थापाको भे.३ प २३०६ नम्बरको मोटरसाइकल तोडफोड भएको छ । थापालाई पनि प्रदर्शनकारीले कुटपिट गरेर सामान्य घाइते बनाएका छन् ।
त्यसै गरेर एमाओवादीका समर्थकले ‘तेश्रो आँखा’ दैनिकको कार्यालयमा ढुङगा प्रहार गरेर क्षती पुराई दिएका छन् ।
प्रदर्शनकारी र प्रहरी एवं एमाओवादीका समर्थक बीच दैलेखमा पटक पटक झडप समेत भएको थियो ।
वाईसियलले काँडेचौरमा रोशन बिक र भद्रबहादुर शाहीलाई ढुङगा प्रहार गरेर घाईत बनाएका छन् । उनीहरुको टाउकोमा गम्भीर चोट लागेको छ ।
यसैगरी कार्यक्रमस्थल नजिक बिन्धवासिनी–७ बस्ने ५८ वर्षीय बिष्णु अधिकारीको दाँया कानमा ढुंगा लागेर सामान्य घाइते भएका छन् । दुबै पक्षका घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
एमाओवादी र विपक्षी दलहरुका बीच ढुंगा हानाहान भए पछि केहीबेर कार्यक्रम विथोलिएको थियो । प्रहरीको सहयोगमा स्थिति नियन्त्रणमा लिएपछि पुनः कार्यक्रम सुचारू भएको प्रहरी भनाई छ ।
जिल्लामा हुन सक्ने सम्भावित भिडन्त नियन्त्रणका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसमेतबाट थप सुरक्षाकर्मी परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
त्यसै गरेर, एमाओवादीले दैलेखका पत्रकारहरुलाई ज्यान लिने धम्की दिएका छन् । उनीहरुले एमाओवादी र प्रधानमन्त्रीको विरोध जारी राखे पत्रकार डेकेन्द्र थापाकै अवस्थामा अरु दश पत्रकारलाई पनि पुराई दिने चेतावनी दिए ।

भिडियो सौजन्य ईमेज च्यानल ।

प्रतिक्रिया