फरार अभियुक्त गृहमन्त्री भएकै कार्यक्रममा अतिथि

Hariraj-Pantaराजविराज, ९ माघ । सिडिओ कार्यालय सप्तरीले हातहतियार तथा खरखजाना मुद्दामा सजायको फैसला सुनाएको ६ महिना बित्दासमेत सजाय पाउनुपर्ने व्यक्ति कानुनी दायराबाहिर छन् । तिनै व्यक्ति प्रहरी प्रशासनलाई चुनौती दिँदै सार्वजनिक सभासमारोहमा अतिथि बनेर घुमिरहँदा प्रहरी रमिते बनेको छ ।

फत्तेपुर–३ का मुकेश खड्का र सुवासचन्द्र पोखरेललाई सिडिओ कार्यालयले ९ साउन २०६९ मा हातहतियार तथा खरखजाना मुद्दामा सजायको फैसला सुनाएको थियो । हालसम्म उनीहरू पक्राउ परेका छैनन् । धर्मोदय सभाद्वारा २१, २२ र २३ पुसमा राजविराजमा आयोजित ११औँ राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न आएका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारदेखि सुरक्षानिकायका प्रमुखसमेत रहेको एउटै मञ्चमा भेटिए पनि खड्कालाई प्रहरीले पक्राउ गरेन ।
समारोहमा गृहमन्त्री गच्छदारलगायत पूर्वाञ्चलका डिआइजी परशुराम खत्री, सिडिओ हरिराज पन्त, एसएसपी गोविन्द निरौला, सप्तरीका एसपी सञ्जयसिंह बस्नेत, सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियाका एसपी सिपी गौतम, राष्ट्रिय अनुसन्धानका एसपी ईश्वरभक्त श्रेष्ठ, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय राजविराजका एसपी वेचन यादव, नेपाली सेनाको राजविराजस्थित कृष्ण दल गणका मेजर राजेन्द्रमणि गिरीको पनि कार्यक्रममा उपस्थिति थियो । प्रशासनले सजायको फैसला तोकेका व्यक्ति गृहमन्त्रीलगायत सुरक्षा निकायका प्रमुखसमेत उपस्थित रहेको मञ्चमा अतिथिको आसनमा भेटिएका थिए तर उनी पक्राउ परेनन् ।
पेस्तोलसहित ५ माघ ०६८ मा फत्तेपुर–३ बाट पक्राउ परेका उपेन्द्र चौधरीसहित खड्का र पोखरेललाई सिडिओ कार्यालय सप्तरीले सजायको फैसला सुनाएको छ । चौधरीको बयानका आधारमा उनीहरूलाई प्रशासनले २७ माघ ०६८ मा ३० दिने म्याद जारी गरेको थियो । तर, दुवै कार्यालयमा उपस्थित नभएपछि जनही ६० हजार रुपियाँका दरले जरिबाना गर्ने सिडिओको फैसला भएको थियो । उनीहरूले अहिलेसम्म जरिबाना बुझाएका छैनन् । सिडिओ कार्यालयका शाखा अधिकृत विष्णुरञ्जन बरालका अनुसार पक्राउ परेका चौधरीको बयानमा हतियार उनको नभई खड्का र पोखरेलको भन्ने उल्लेख थियो । चौधरीलाई तीन वर्ष कैद गर्ने फैसला भएकाले राजविराज कारागार पठाइएको छ । तर, खड्का र पोखरेल हालसम्म अनुपस्थित मात्र छैनन्, सुरक्षा निकाय अझ गृहमन्त्री नै प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथि बनेर सुरक्षा निकाय र कानुनी शासनको खिल्ली उडाइरहेका छन् । डिएसपी गोविन्द अधिकारीले खड्का र पोखरेल दुवैको खोजी जारी रहेको बताए ।

प्रतिक्रिया