महासंघ टोली म्यान्मार प्रस्थान

काठमाडौं : नेपाल र म्यानमारबीचको आर्थिक व्यावसायिक सम्भाव्यता अध्ययनका लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासंघको १३ सदस्यीय प्रतिनिधिमण्डल आइतबार याङ्गुन प्रस्थान गरेको छ । भ्रमण नेपाली दूतावास म्यानमार र म्यानमारमा रहेका गैरआवासीय नेपालीको पहलमा भएको हो । माघ १२ गते स्वदेश फर्कने महासंघको प्रतिनिधिमण्डलले भावनात्मक सम्बन्ध रहेका नेपाल र म्यानमारबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, विद्यमान वस्तुस्थिति तथा संयुक्त लगानीका सम्भाव्यताका सम्बन्धमा त्यहाँका उद्योगी व्यवसायीसँग छलफल गर्नेछ ।
नेपाल र म्यानमार प्रचुर प्राकृतिक स्रोतले सम्पन्न मुलुक हुन् भने यतिखेर म्यानमारलाई लगानीको गन्तव्यका दृष्टिले बाह्य देशले निकै चासोपूर्ण रूपमा हेरिरहेका छन् । अत्यन्त न्यून रहेको द्विपक्षीय व्यापारलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने सम्बन्धमा महासंघको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा विशेष रूपमा उठान गर्ने छ भने नेपालमा लगानीका अवसर तथा नेपाल लगानी वर्ष र सरकारले बाह्य लगानी आकर्षणका लागि लिएका नीतिगत व्यवस्थाका सम्बन्धमा प्रतिनिधिमण्डलले म्यानमारका उद्योगी व्यवसायीलाई जानकारी गराउने छ । सोही भ्रमणकै क्रममा एसिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघको प्रतिनिधिमूलक संस्था क्यासीको अध्यक्षात्मक भ्रमणमा पनि महासंघको प्रतिनिधिमण्डलले भाग लिनेछ ।
महासंघका पूर्वअध्यक्ष एवं क्यासी कार्यकारिणी समितिका उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठ, महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डे, कार्यकारिणी समिति सदस्य चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, शाहिल अग्रवाल, क्वेस्ट फर्मास्युटिकल्स प्रालिका व्यवस्थापन निर्देशक उमेशलाल श्रेष्ठ, हिमालयन सेन्टर फर एजुकेसज डेभलपमेन्ट सेन्टरका अध्यक्ष राजेन्द्रमान शेरचन, अल्टरनेटिभ फर्निचर्सका प्रमुख टासी वाङग्याल लामा, कारोबार दैनिकका प्रधानसम्पादक प्रतीक प्रधानसहित रहेका छन् । महासंघको व्यावसायिक प्रतिनिधिमण्डलले माघ ८ गते युनियन अफ म्यानमार उद्योग वाणिज्य संघका पदाधिकारी तथा म्यानमारमा रहेका गैरआवासीय नेपालीसँग छुट्टाछुट्टै भेटघाट तथा बैठक गर्नेछ ।
ती दुवै बैठकमा महासंघतर्फबाट नेपाल र म्यानमार बीचको आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा विशेष जोड दिइने छ । साथै सोही दिन साँझ म्यानमारस्थित नेपाली दूतावासका तर्फबाट आयोजना गरिने कार्यक्रममा महासंघको प्रतिनिधिमण्डलले भाग लिने छ ।

प्रतिक्रिया