नेकोन पीडित तलब–भत्ता माग्दै

Necon-Airकाठमाडौं, ८ माघ । करिब नौ वर्षअघि बन्द भइसकेको नेकोन एयरका पूर्वकर्मचारीले आफूहरूले काम गरेको अवधिको तलब–भत्ता नपाएको भन्दै बाँकी रकम तत्काल चुक्ता गर्नुपर्ने बताएका छन् । नेकोन एयरले तल्लो तहका कर्मचारीको एक वर्ष र माथिल्लो तहका कार्मचारीको झन्डै दुई वर्षको तलब–भत्ता नदिएको उनीहरूको भनाइ छ ।

पीडित कर्मचारी नेकोन एयर संघर्ष समिति गठन गरेर आफ्नो हक–अधिकारका लागि विभिन्न निकायमा धाइरहेका छन् । केही समयअघि मात्र प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटेका उनीहरूले तीन दिनभित्र रकम उपलब्ध गराइदिने वचन पाएका थिए । तर लामो समय बितिसक्दा पनि उनीहरूले तलब–भत्ता पाउन सकेका छैनन् । तलब– भत्ता, सञ्चयकोष, घरबिदालगायत गरी मासिक ३५ सय रुपियाँका दरले एक वर्षको रकम आफूहरूलाई उपलब्ध गराइदिनु पर्ने माग उनीहरूको छ । नेकोन एयर संघर्ष समितिका अध्यक्ष वासुदेवप्रसाद उपाध्यायले दसथरी निकायमा धाउँदा पनि कुनै उपलब्धि हात नलागेको बताए ।
अर्का पीडित कर्मचारी गोविन्दप्रसाद बस्ताकोटीका अनुसार दुई सय ५६ कर्मचारीलाई दिनुपर्ने झन्डै ६ करोड रुपियाँ नेकोन एयरले दिएको छैन । ०४९ सालमा स्थापना भएको नेकोन एयर विविध कारण देखाउँदै ०६१ साउनमा बन्द भएको थियो ।
आफूले काम गरेबापतको पारिश्रमिक माग्न जाँदा नेकोनका प्रमुख दुई सञ्चालक मुकुन्दभक्त श्रेष्ठ र दीपमणिराज भण्डारीले एकअर्कालाई देखाउने गरेको पीडित कर्मचारीको गुनासो छ । पारिश्रमिक पाउनु पर्ने भन्दै पूर्वकर्मचारीले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत निकायमा ज्ञापनपत्र बुझाएका छन् । तर, कतैबाट सुनुवाइ भएको छैन । हालै मात्र उनीहरू प्रो–पब्लिक पुगे ।
श्रम कार्यालय वाग्मतीले ०६१ चैतमा नै कर्मचारीको सम्पूर्ण रकम कम्पनीले दिनुपर्ने निर्णय गरेको थियो । पीडित कर्मचारी बस्ताकोटीका अनुसार कर्मचारीले प्रतिव्यक्ति न्यूनतम दुईदेखि १५ लाख रुपियाँसम्म पारिश्रमिक पाउन बाँकी छ । श्रम कार्यालयको फैसलाअनुसार पाँच करोड ९४ लाख ८२ हजार रुपियाँ कर्मचारीले पारिश्रमिक पाउन बाँकी छ । यसमध्ये एक करोड तीन लाख ४० हजार रुपियाँ सञ्चयकोष र चार करोड चार लाख १७ हजार रुपियाँ पारिश्रमिकबापतको हो । तलब–भत्ता नपाउने नेकोनका पूर्वकर्मचारी तल्लो तहकादेखि पाइलट र इजिनियरसम्म दुई सय ५६ जना छन् ।
पीडित कर्मचारीले प्रधानमन्त्री भट्टराईलाई भेटी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका नेकोन एयरका पुराना जहाज लिलामीको प्रक्रिया रोकिदिन आग्रह गरेका थिए । तर, विमानस्थल व्यवस्थापनले कम्पनीका जहाज लिलाम गरिसकेको छ । कम्पनीले विमानस्थललाई नै करोडौँ रुपियाँ बक्यौता तिर्न बाँकी रहेको बताइएको छ । विमानस्थल परिसरमा नेकोनका पुराना जहाज तथा बस, क्रेन, ट्ेरसललगायत सामान छन् ।
नेकोनमा पूर्वसञ्चालकमध्ये दीपमणि राजभण्डारी सबैभन्दा बढी सेयर हालेका सञ्चालक हुन् । राजभण्डारीले पूर्वकर्मचारीलाई तलब–भत्ताबापत २० लाख रुपियाँको चेक दिएका थिए तर सो चेक बाउन्स भयो ।
त्यस्तै अर्का सञ्चालक मुकुन्दभक्त श्रेष्ठ कोहलपुर मेडिकल कलेजका अध्यक्ष छन् । अन्य सञ्चालक विनोदबहादुर श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, मृगेन्द्र राजभण्डारी र दीपकराज कोइराला भने सम्पर्कमा नरहेको पूर्वकर्मचारीले बताएका छन् । पीडित कर्मचारीको निवेदनबमोजिम जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत महिना नेकोनका पूर्व सञ्चालकलाई बोलाएको भए पनि एकजना मात्र उपस्थित भएका थिए ।

प्रतिक्रिया