अनुसन्धान टोली घटनास्थलमा

दैलेख, ८ माघ । पत्रकार डेकेन्द्रराज थापा हत्याकाण्डमा साक्षीप्रमाण जुटाउने उद्देश्यले प्रहरीको अनुसन्धान टोली घटनास्थल गएको छ । अनुसन्धान अधिकृत इन्स्पेक्टर विनोद शर्माको नेतृत्वमा आइतबार घटनास्थल नौमुले र द्वारीमा टोली गएको हो । ‘थापालाई अपहरण गरी लगेको क्षेत्र नौमुले र गाडिएको स्थान द्वारी–१ मा पुगेर सोमबारदेखि घटनासँग सम्बन्धित साक्षीप्रमाण जुटाउनेछौँ,’ अनुसन्धान अधिकृत शर्माले भने, ‘घटनाबारे जानकारसँग सोधपुछ गरेर आवश्यक प्रमाण संकलन गर्नेछौँ ।’

सदरमुकाममा ५१ दिनदेखि अवरुद्ध खानेपानी सुचारु गर्न थापालाई वार्ताकारका रूपमा तत्कालीन माओवादी कार्यकर्ताले भवानी गाउँमा बोलाएका थिए । सेना–प्रहरीलाई लक्षित गरी माओवादीले सदरमुकाम आउने पानीको लाइन काटिदिएका थिए । उपभोक्ताका तर्फबाट उनी वार्ताका लागि ९ असारमा घरबाट हिँडेका थिए । यसैबीच, हत्याका मुख्य अभियुक्त भनिएका फरार अभियुक्तलाई पक्राउ गर्न जिल्ला प्रहरीले सम्बन्धित निकायबाट सहयोग नपाएको गुनासो गरेको छ । कट्टीका बमबहादुर खड्का, छिउडीपुसाकोटका अरुण भनिने बमबहादुर खड्का, सोही गाविसकै केशव खड्का, द्वारिका भक्तिराम लामिछाने जिल्लाबाहिर छन् ।

प्रतिक्रिया