कांग्रेसका भातृसंगठनका विधान अनुमोदन

NC flag1
काठमाडौं, ७ माघ । कांग्रेसले आफ्ना भातृ संगठनका विधान परिमार्जन सहित पारित गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले महिला संघ, तरुण दललगायतको विधान परिमार्जनसहित पारित गरेको कांग्रेसले जनाएको छ ।
बैठकले स्वर्गीय भीमबहादुर तामाङको संयोजकत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदन सम्बन्धित समितिमा पठाउने निर्णय पनि गरेको छ । तामाङ नेतृत्वको कार्यदलले संघीयता, राज्य पुनःसंरचना र आदिवासी जनजातिहरुका माग समेटेर प्रतिवेदन तयार पारेको थियो ।
यसैवीच, कांग्रेसले सवै सहमति र सम्झौता तोड्ने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिको आलोचना पनि गरेको छ । उसले अध्यक्ष दाहालको अभिव्यक्तिलाई गैरजिम्मेवारीको संज्ञा दिएको छ ।
प्रधानमन्त्री बाबुराम भट्टराईले मार्गप्रसस्त गरे आगामी जेठमा नयाँ निर्वाचन गराउन सकिने कांग्रेसको निष्कर्ष छ । उसले त्यसका लागि जिम्मेवार हुन एमाओवादीलाई आग्रह गरेको छ ।
त्यसै गरेर कांग्रेसले सरकार विरुद्धको आन्दोलनलाई शसक्त बनाउने निर्णय पनि गरेको छ । आन्दोलनलाई प्रभावकारी बनाउन केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने निर्णय गरेको केन्द्रीय सदस्य कमला पन्तले जानकारी दिईन ।

प्रतिक्रिया