चोर समात्न ग्राहकको भूमिका

Baglungबाग्लुङ, ७ माघ । लोडसेडिङको समय पारेर बाग्लुङ बजारको मोबाइल पसलबाट एक लाख रुपियाँभन्दा बढीको मोबाइल चोरी गर्नेलाई प्रहरीले ग्राहक बनेर नाटकीय रूपमा पक्राउ गरेको छ ।

सदरमुकामको समीक्षालय चोकस्थित प्रेम इलेक्ट्रोनिक्स तथा मोबाइल मर्मत केन्द्रबाट करिब १ लाख ६३ हजार रुपियाँ बराबरको मोबाइल चोरी गर्ने गिरोह पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत मोतीहारीका १८ वर्षीय बिटु शाह विकास, बारा कलैया–८ का २२ वर्षीय पुलिन्दर शाह र बाग्लुङ–४ हाडेपाखाका १८ वर्षीय शंकर दर्जी लैला छन् ।
बुधबार राति मोबाइल पसलमा चोरी भएपछि प्रहरी हवल्दार सुरेन्द्र सिंहको नेतृत्वको टोली चोरीमा संलग्नको खोजीमा सक्रिय बनेको थियो । चोरीको आशंकामा प्रहरीले ग्राहक बनेर अनुसन्धान गर्दा शुक्रबार बिहान पुलिन्दर र बिटु प्रहरी फन्दामा परेका थिए । पुलिन्दर र बिटुको सहयोगमा चोरीको मोबाइल लिएर जिल्ला छाडेका लैला कुस्माबाट पक्राउ परेका थिए । शंकाको घेरामा राखिएका उनीहरूसँग हवल्दार सिंहले भनेका थिए, ‘म पनि तराईको हुँ, मोबाइल किन्न खोज्दै छु ।’ मोबाइल किन्ने बहानामा सँगै नास्ता खाएर गफिँदा उनीहरूले आफूहरूसँग थुपै्र मोबाइल भएको बताएका थिए । त्यसपछि उनीहरू पक्राउ परेका थिए ।
४४ थान मोबाइल सेट र १ थान मोडियमसहित चोरी भएको २४ घन्टा नबित्दै उनीहरूलाई पक्राउ गर्न सफल भएको डिएसपी कृष्णप्रसाद सिवाकोटीले बताए । उनले पक्राउ गर्न प्रहरी हवल्दार सुरेशकुमार सिहंले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई पुरस्कृतसमेत गर्ने बताए ।
करिब १ लाख ६३ हजार ३ सय रुपियाँ पर्ने नोकिया मोबाइल १२, सामसुङ ४, जि फाइभ ४, कार्बन ४, कलर्स ६, लिसन ४ र लिफन मोबाइल २ सहित फक्राउ परेकालाई प्रहरीले सार्वजनिक गरेको छ । चोरीमा संलग्न पुलिन्दर कवाडी संकलक, बिटु शाह रजनी फर्निचरका कामदार र लैला ट्रयाक्टर चालक रहेको अनुसन्धानमा खुलेको छ ।
बिटुको योजनामा पसलमा चोरी भएको प्रहरीले जनाएको छ । पक्राउ परेका बिटु मोबाइल खरिद गरिदिनुपर्‍यो भन्दै मोबाइल पसलमा गएर रेकी गरेको समेत प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाग्लुङका अनुसार मध्यरातमा लोडसेडिङको मौका छोपी मोबाइल पसलमा चोरी गरिएको थियो ।
चोरीमा संलग्न हुनेहरू यसअघि पनि चोरीका घटनामा सम्मिलित भएको जानकारी आएकाले थप अनुसन्धान भइरहेको डिएसपी सिवाकोटीले बताए ।

प्रतिक्रिया