अहिलेकै कानून अनुसार कारबाही गर्नु पर्छ

3 dal flagकाठमाडौं, ५ माघ । अधिवक्ता अग्नि खरेलले नेपालले अन्तर्राष्ट्रिय महासन्धीमा प्रतिबद्धता ब्यक्त गरे अनुसार राष्ट्रिय कानून निर्माण नगरे विश्वब्यापी अधिकारक्षेत्र लागू हुने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले हालको मुलुकको फौज्दारी न्यायप्रणालीलाई ध्वस्त पारेर न्याय अघि बढ्नै नसक्ने समेत बताए ।
‘पहिला पनि राजनीतिक सहमति नभएको विषय हो,’ उनले भने, ‘अहिले पनि राजनीतिक सहमति विना राष्ट्रपतिले अध्यादेश अनुमोदन गर्न हुँदैन र राष्ट्रपतिले गर्नु पनि हुन्न ।’
कांग्रेसका नेता रमेश लेखकले बन्दै नबनेको आयोगको नाम दिएर त्यसको क्षेत्राधिकार सुरु हुनै नसक्ने स्पष्ट पारे । उनले आयोग नबन्दा सम्म अहिलेकै कानून अनुसार दोषीलाई कानूनी कारवाही अघि बढाउनु पर्ने बताए । फौज्दारी कानूनलाई रोक्ने भए मुलुकमा जंगली शासन सुरु हुने चेतावनी उनले दिए ।
एमाओवादीका नेता खिमलाल देबकोटाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हुनु पर्नेमा मतभेद नरहे पनि विद्येयकको निर्माण नेपालको शान्ति प्रक्रियाको विशिष्ट अवस्थालाई मध्य नजर राखेर हुनु पर्ने बताए ।
उनले भने, ‘द्वन्द्वको समयमा नियमित राज्य सञ्चालन भएन, २०४७ सालको संविधान खारेज भएकोले त्यसबेलाको घटनामा त्यसबेला देखि रहेका कानून अनुसार कारवाही हुन सक्दैन ।’
उनले मेलमिलापका लागि आयोग बन्नु पर्ने भन्दै अहिलेका गतिविधि मेलमिलाप विरोधीहरुको खेल भएको आरोप लगाए ।

प्रतिक्रिया