राहुघाट जलविद्युत् आयोजनाको निर्माण प्रभावित

बाग्लुङ, २७ पुस । ठेकेदार पक्षको ढिलाइका कारण ३२ मेघावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सिभिल निर्माणको काम प्रभावित भएको छ ।

परामर्शदाताले काम गर्न आदेश दिएको एक महिनासम्म पनि भारतीय ठेकेदार कम्पनी आइभिआरसिएलले विभिन्न माग राखेर काम अघि नबढाएपछि जिल्ला विकास समितिको कार्यालयमा बसेको राजनीतिक दलको बैठकले समेत यसमा चासो व्यक्त गरेको छ ।
बैठकले आयोजनाको आवश्यक काम तत्काल अघि बढाउनुपर्ने निर्णय पनि गरेको छ । राहुघाट जलविद्युत् आयोजना निर्माण सुरु भएमा निजी क्षेत्रबाट अन्य आयोजना निर्माणका लागि सहज हुने भएकाले सो आयोजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न माग गरेको राजनीतिक दलको संयुक्त बैठकपछि एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए ।
०६७ चैतमा कार्यक्षेत्रमा परिचालित ठेकेदार कम्पनीले अहिलेसम्म काम गर्न नपाउँदाको क्षतिपूर्ति र नयाँ दररेट समायोजनको माग राख्दै भारतीय परामर्शदाता कम्पनी वासफोसले १५ मंसिर ०६९ मा काम सुरु गर्न आदेश दिए पनि अझै काम सुरु भएको छैन । नेपाल विद्युत् प्राधिकरणले उच्चस्तरीय वार्ताटोली गठन गरेर ठेकेदारसँग वार्ताको तयारी गरेको आयोजनाका सहायक प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताए । ठेकेदार पक्षबाट काम अघि नबढाउनु र स्वयं नेपाल विद्युत् प्राधिकरण पनि बढी लागतको कारण देखाउँदै राहुघाट निर्माणमा अनिच्छुक देखिएकाले स्थानीय स्तरबाट दबाब दिन लागिएको एकीकृत नेकपा (माओवादी) म्याग्दीका संयोजक गोविन्द पौडेलको भनाइ छ ।
भारतीय एक्जिम बैंकको ३१ मिलियन डलर सहुलियत ऋण र बाँकी नेपाल सरकारको गरी ६७ मिलियन डलर लगानीमा ३२ मेघावाट क्षमताको आयोजना निर्माण हुन लागेको हो । गुठी जग्गा अधिग्रहण विवादका साथै ऋण उपलब्ध गराउने बैंकले परामर्शदाता छनोट गर्न र सरकारले सामुदायिक वनमा रूख कटान आदेशका लागि ढिलो निर्णय गर्दा प्रभावित बनेको थियो ।
म्याग्दीको पिप्ले तिल्केनीचौरमा विद्युत्गृह, भिँm र दग्नाम गाविसको सिमानामा बाँध र ७ किलोमिटर सुरुङ रहने राहुघाट जलविद्युत् आयोजना निर्माण कार्यलाई तीव्रता दिनका लागि सरकार तथा कूटनीतिक निकायमार्फत पहल हुनुपर्ने माओवादी नेता पौडेल बताउँछन् ।

प्रतिक्रिया