युरोजोनको बेरोजगारी दर १२ प्रतिशत

बेल्जियम : ऋण संकटले थलिएको युरो मुद्रा चलाउने १७ युरोपेली देशको समूह युरोजोनको बेरोजगारी दरले नयाँ कीर्तिमान कायम गरेको छ । युरोपेली तथ्यांक कार्यालय युरोस्टाटले बताएअनुसार नोभेम्बरमा त्यहाँको बेरोजगारी दर ११ दशमलव ८ प्रतिशत पुगेको छ ।
यो सन् १९९९ यताकै उच्च बिन्दु भएको बताइएको छ । नोभेम्बरको अन्त्यसम्म युरोजोनमा पूर्णरूपमा कामविहीन मानिसको कुल संख्या १ करोड ८८ लाख नाघेको युरोस्टाटले जनाएको छ । २७ युरोपेली देश सामेल युरोपेली संघ (इयु) को समग्र बेरोजगारी दर भने अक्टोबर महिनाझैँ १० दशमलव ७ प्रतिशतमै स्थिर रहेको युरोस्टाटले उल्लेख गरेको छ । यसबाट युरोक्षेत्रसमेत गरी इयुभर नोभेम्बरको अन्त्यसम्म कामविहीन मानिसको कुल संख्या २ करोड ६० लाख नाघेको युरोस्टाटको भनाइ छ ।
युरोजोनका देशमध्ये स्पेनको बेरोजगारी २६ दशमलव ६ प्रतिशतको उचाइमा पुग्दै सबैभन्दा बढी हुन पुगेको बताइएको छ । त्यसपछि बेरोजगारी दर २० प्रतिशत पुगेको ग्रिस दोस्रो स्थानमा छ । युरोस्टाटका अनुसार युरोजोनमा युवा बेरोजगारी पनि चिन्ताजनक ढंगले वृद्धि भइरहेको युरोस्टाटले बताएको छ । नोभेम्बरमा युरोजोनको युवा बेरोजगारी २४ दशमलव ४ प्रतिशत पुगेको छ । उता, युरोजोनका प्रमुख अर्थतन्त्रहरू जर्मनी, अस्ट्रिया र लक्जेम्बर्गका बेरोजागारी दर क्रमश: ५ दशमलव ४ प्रतिशत, ४ दशमलव ५ प्रतिशत र ५ दशमलव १ प्रतिशत मात्रै रहेको छ । विश्लेषकका अनुसार ऋण संकटको असरले बेरोजगारी दर यसरी बढ्न पुगेको बताएका छन् ।
खराब ऋणको संक्रमण पछिल्ला केही महिनायता थामिए पनि व्यापारिक क्षेत्रको आत्मविश्वासमा वृद्धि नहुनु, आर्थिक गतिविधि गतिशील नबन्नु र सार्वजनिक खर्चमा गरिएका उच्च कटौतीले युरोजोनमा पूर्ण अथवा आंशिक रूपले कामविहीन मानिसको संख्या बढाएको उनीहरूको भनाइ रहेको छ । (एजेन्सी)

प्रतिक्रिया