आर्थिक विकासमा निजीक्षेत्रको लगानी आवश्यक

चितवन, २७ पुस । मुलुकको बृहत्तर विकासका लागि निजी क्षेत्रको लगानी आवश्यक रहेको सुझाव विज्ञहरूले दिएका छन् ।

चितवन महोत्सव एवं मध्यमाञ्चल व्यापार मेला– ०६९ का अवसरमा नेपालमा लगानी गरौँ (इन्भेस्ट मिड नेपाल) विषयक कार्यक्रममा सहभागी विज्ञहरूले त्यस्तो सुझाव दिएका हुन् । कृषि, पर्यटन, जैविक विविधता र जलस्रोतको धनी राष्ट्रका रूपमा परिचत नेपालमा यस्ता सम्भाव्यको उचित व्यवस्थापन नहुँदा समस्या आएको विज्ञहरूको ठहर छ ।
सन् ०१२/१३ लगानी वर्ष घोषण गरे पनि निजीक्षेत्रसँगै विदेशी लागानीमा एकद्वार नीतिका कारण लगानी भित्रिन नसकेको विज्ञहरूले बताए । नेपालका राजनीतिक मुद्दा हल नभएसम्म नेपालमा विदेशी लगानी भित्रिन समस्या रहने जापानको सेकेई विश्वविद्यालयका प्रोफेसर रोकोची हिरोनोको भनाइ थियो । देशमा आर्थिक क्षेत्रको छिटो विकासका लागि निजीक्षेत्रको लागानी आवश्यक हुने भन्दै अहिलेको अन्योल राजनीतिको अन्त्य नभएसम्म समस्या समाधान हुन नसक्ने उनको भनाइ थियो ।
राजनीतिक अस्थिरताले आर्थिक वृद्धि र विकासमा प्रभाव पारेको भए पनि चीन र जापानबाट नेपालले धेरै कुरा सिक्नुपर्नेमा ताकाहासीले जोड दिए । नेपालीले अरूलाई मात्र दोष दिने प्रवृत्ति त्यागेर सबै मिलेर देश विकास गर्नुपर्ने सोचलाई अघि बढाउन पनि उनले सुझाव दिए । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालको विकासका लागि स्रोतसाधनभन्दा पनि सोचको अभाव भएको बताए । ‘जुनसुकै देश पनि सुरुमा स्रोतसाधन सम्पन्न हुँदैन,’ पूर्वमन्त्री पाण्डेले भने, ‘स्रोतसाधनको बढी मात्रामा प्रयोग गर्नसके विकासले फड्को मार्छ ।’
विकासका लागि सडकको ठूलो महत्त्व भएको भन्दै उनले तराईको पूर्वपश्चिम राजमार्गजस्तै मध्यपहाडी क्षेत्रमा राजमार्ग निर्माणको काम अगाडि बढे देश विकासको गति बढ्ने दाबी गरे ।
भ्रष्टाचार विकासको बाधक भएको भन्दै यसलाई न्यूनीकरण गर्न आफूसँग विशेष योजना रहेको औँल्याए । गैरआवासीय नेपाली संघका अध्यक्ष जिवा लामिछानेले प्रवासमा रहेकाबाट ठूलो लगानी गर्न नसके पनि स्पष्ट योजना भए नेपालमा लगानी गर्न ६० देशमा रहेका ३० लाख नेपालीलाई परिचालन गर्न सकिने बताए । उनले एनआरएनले अब हाईड्रोपावरमा लागानीलाई विशेष प्राथमिकता दिने बताए । ‘सप्तगण्डकी हाईड्रोपावरलाई नै हाम्रो प्राथमिकता रहनेछ,’ अध्यक्ष लामिछानेले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले राजनीतिक अस्थिरताबीचमा पनि विकासका नयाँ सम्भावना खोज्न व्यवसायीलाई अनुरोध गरे । उनले नेपालको विकासका लागि दातृनिकायको भर पर्ने प्रवृत्ति त्यागेर विदेशी प्रविधिलाई भित्र्याएर नेपालको विकासका लागि सबै जुट्न अनुरोध गरे ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्र पोखरेलले समृद्ध, आधुनिक र न्यायमूलक समाजको परिकल्पनामा जोड दिए । उनले जैविक विविधता र सूचनाप्रविधिलाई विशेष ध्यान दिएर अगाडि बढे मात्रै पनि नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए । सहरीकरण विकास परियोजनाका संयोजक ओमराज भण्डारीले बढ्दो सहरीकरणसँगै घरनिर्माणको वर्तमान परिवेश र ढाँचा परिवर्तन गर्न सरकारले विशेष पहल गर्नुपर्ने बताए । उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य चुननारायण श्रेष्ठले चितवनमा लगानी भित्र्याउन सम्भावना रहेको अटो ल्यान्ड र कालिका केबुलकार तथा तिब्बत ठोरी केरुङ सुरुङमार्ग निर्माणको प्रस्ताव पेस गरे ।

प्रतिक्रिया