भारतले गिद्दे दृष्टि लगायो : वैद्य

काठमाडौं, २६ पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले दक्षिण छिमेकी भारतले नेपालको राष्ट्रिय स्वाधीनतामा गिद्दे दृष्टि लगाएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा पार्टीको महाधिवेशन उद्घाटन गर्दै उनले चीनले नेपालको राष्ट्रिय स्वाधीनतालाई सम्मान गरे पनि भारतले गिद्दे दृष्टि लगाएको आरोप लगाएका हुन् ।

गत असार पहिलो साता एमाओवादीबाट अलग भएपछि पहिलोपटक महाधिवेशन भए पनि नेकपा–माओवादीले यसलाई सातौँ महाधिवेशन बताएको छ । ‘सबैभन्दा ठूलो चुनौती राष्ट्रिय स्वाधीनताको रक्षा हो,’ वैद्यले भने, ‘चीनले हाम्रो राष्ट्रिय स्वाधीनतालाई सम्मान गरेको छ । तर, दक्षिण छिमेकीका रूपमा भारतबाट त्यस्तो हुन सकेको छैन ।’
उद्घाटन सत्रमा नेपालका लागि चिनियाँ राजदूत याङ होउलान पनि सहभागी थिए । भारतसँग असमान सन्धिहरू भएको उल्लेख गर्दै वैद्यले कार्यक्रममा भने, ‘नेपालमाथि भारतको गिद्दे दृष्टि अन्त्य हुनुपर्छ ।’ जनवादी क्रान्तिका लागि जनयुद्ध थाले पनि नवसंशोधनवादीले घोर धोका दिएपछि पार्टीसँग सम्बन्धविच्छेद गर्नुपरेको उनको भनाइ थियो । ‘क्रान्तिलाई धोका दिनेसँग सँगै हिँड्न नसकेकाले सम्बन्धविच्छेद गर्‍यौँ,’ उनले भने ।
संसद्वादी दलहरूबीच कुनै अग्रगामी मुद्दामा बहस नभई सत्ताको हानथाप भएको आरोप वैद्यले लगाए । उनले भने, ‘ठूला पार्टीका नेताहरूले जनताको अधिकारप्रति खेलबाड गरिरहेका छन् । तीन दल वा चार दलको सहमति हामीलाई मान्य हुँदैन ।’ संसद्वादी दल सत्ताको जोडघटाउमा लागेकाले देशको जिम्मा आºनै दलले लिनेसमेत उनको जिकिर थियो ।
नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले महाधिवेशनले सुगौली सन्धिदेखि १२ बुँदे सहमतिसम्मलाई संश्लेषण गर्नुपर्ने बताए । नागरिक समाजका सुन्दरमणि दीक्षित, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीलगायतले महाधिवेशनलाई मुलुकको राजनीतिक निकासमा केन्द्रित गर्न सुझाव दिएका थिए ।
महाधिवेशन उद्घाटन समारोहमा भाग लिन केही साना दलका प्रतिनिधि र केही छिमेकी कम्युनिस्ट पार्टीका प्रतिनिधि आएका थिए । नेपालका लागि चीन र दक्षिण कोरियाका राजदूत पनि उद्घाटन कार्यक्रममा सहभागी भए । उद्घाटन सत्रमा देशका ठूला राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको थिएन । पुस २५ देखि चलेको महाधिवेशनको बन्दसत्र बिहीबारबाट सुरु हुनेछ । नयाँ नेतृत्व चयन गरी माघ १ गते घोषणा सभा गर्दै महाधिवेशन सकिने माओवादीले जनाएको छ । महाधिवेशनमा १६ सयजति प्रतिनिधि र पर्यवेक्षक सहभागी हुनेछन् । राजधानीका विभिन्न स्थानबाट निस्किएको जुलुस खुलामञ्चमा पुगी उद्घाटन समारोह सहभागी भएको थियो ।

प्रतिक्रिया