पर्यटक बढे, खर्च बढेन

काठमाडौं, २३ पुस । सन् ०१२ मा नेपाल आउने पर्यटक बढे पनि तिनले गर्ने खर्च भने बढ्न नसकेको व्यवसायीले बताएका छन् । पछिल्लो समय खर्च कटौती गर्ने पर्यटक मात्रै बढी आएकोमा उनीहरूको चिन्ता छ ।

तीन वर्षदेखि नेपाल आउने पर्यटकको संख्याले नयाँ रेकर्ड कायम गरे पनि आम्दानी भने बढ्न नसक्दा पर्यटनकर्मी सन्तुष्ट छैनन् । पर्यटन मन्त्रालय तथा नेपाल पर्यटन बोर्डले पर्यटक आगमन बढेकामा खुसी व्यक्त गरे पनि पर्यटन व्यवसायीले भने यसलाई उत्साहजनक रूपमा लिएका छैनन् ।
नेपाल आउने पर्यटकको बसाइ अवधि र तिनले गर्ने खर्चबारे आधिकारिक तथ्यांक आउन बाँकी छ तर पर्यटक आगमन वृद्धिको तुलनामा यो क्षेत्रबाट हुने आम्दानी भने नबढेको व्यवसायीले बताएका छन् । ट्ेरकिङ व्यवसायी मोहन लम्साल पर्यटकको संख्या बढे पनि खर्च बढी गर्ने गुणस्तरीय पर्यटक भने बढ्न नसकेको अनुभव सुनाउँछन् । ‘तुलनात्मक रूपमा बढी खर्च गर्ने युरोपियन तथा अमेरिकी पर्यटकको आगमन दर उत्साहजनक छैन,’ लम्सालले भने । नेपालको प्याकेज महँगो हुँदै गइरहेका कारण पर्यटकले विकल्प खोज्न थालेको उनको निष्कर्ष छ । भारत, चीन, भुटान, श्रीलंकालगायत मुलुकको तुलनामा नेपाली प्याकेज महँगो भएको व्यवसायीले बताउँदै आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार नेपाल आउने कुल पर्यटकमध्ये २७ प्रतिशत युरोपियन र अमेरिकी ७ प्रतिशत छन् ।
सन् ०१२ मा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै करिब ६ लाख पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । यो संख्या गत वर्षको तुलनामा १० प्रतिशतले बढी हो । सन् ०११ मा साढे ५ लाख पर्यटक नेपाल आएका थिए ।
मुख्य बजार भारतबाट ०१२ मा एक लाख ६४ हजार ६ सय ८० पर्यटक आएका छन् । यो संख्या गत वर्षका तुलनामा १३ दशमलव ३ प्रतिशतले बढी हो । नेपाल आउने कुल पर्यटकमध्ये २७ दशमलव ५ प्रतिशत भारतीयले ओगटेका छन् । १६ हजार ३ सय बंगलादेशी पर्यटक आएका छन् भने पाकिस्तानबाट ४ हजार ८ सय आएका छन् । श्रीलंकाली पर्यटक भने एक हजार ९ सय मात्र आएका छन् । नेपाल आउने अधिकांश श्रीलंकाली पर्यटक स्थल मार्गबाट आउँछन् ।
पर्याप्त पूर्वतयारीविना मनाइएको पर्यटन वर्षले उत्साहजनक प्रतिफल दिन नसकेको सरोकारवालाको भनाइ छ । ‘अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार–प्रसार नै हुन सकेन । पर्यटकको उद्गमस्थलसम्म नेपालको प्रचार–प्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रभावकारी सञ्चारमाध्यममा विज्ञापन गर्न सक्नुपथ्र्यो तर त्यो हुन सकेन,’ टानका महासचिवसमेत रहेका लम्सालले भने ।
सरकारले पर्यटकको संख्या बढाउने कुरामा मात्र जोड दिइरहेकामा व्यवसायी असहमत छन् । ‘पर्यटन बोर्ड पर्यटकको टाउको गन्नमै मक्ख छ, तिनले यहाँ आएर कति खर्च गर्छन् भन्नेमा कसैको ध्यान पुगेको छैन,’ एक ट्राभल व्यवसायीले भने । सन् ०११ मा राष्ट्रिय महत्त्वका साथ मनाइएको नेपाल पर्यटन वर्ष अभियानपछि पनि गुणस्तरीय पर्यटक बढ्न नसकेको उनको भनाइ छ ।
ठमेलका व्यापारी पनि धेरै ‘बार्गेनिङ’ गर्ने पर्यटक बढेको बताउँछन् । ‘हेर्ने पर्यटक मात्र बढेका छन्, किन्ने छैनन्,’ ठमेलमा क्युरियो पसल चलाउने अमृत श्रेष्ठले भने । अघिल्ला वर्षमा थोरै पर्यटक आए पनि कमाइ बढी भएको तर यो वर्ष पर्यटक बढेर पनि आम्दानी नबढेको उनको अनुभव छ ।
युरोप अमेरिकासम्म सिधा हवाई सम्पर्क नहुँदा त्यो क्षेत्रका पर्यटक बढ्न नसकेको नेपाल वायुसेवा निगमका वरिष्ठ निर्देशक प्रदीप कार्की बताउँछन् । निगमले युरोपका विभिन्न सहर र जापानसम्म उडान गर्दा त्यहाँबाट बढी पर्यटक आएको अनुभव उनको छ । ‘महँगो भाडा तिरेर ट्रान्जिटको झन्झट व्यहोर्दै पर्यटक आउन चाहँदैन,’ कार्कीले भने । नेपाल आउने पर्यटकको सबैभन्दा बढी खर्च हवाई यातायातमै हुनेगर्छ ।

प्रतिक्रिया