स्वतन्त्र व्यक्तिको चर्चा तमासा मात्र : ओली

काठमाडौं : एमाले नेता केपी ओलीले स्वतन्त्र व्यक्तिको सहमतीय सरकारले चुनाव गर्न नसक्ने बताएका छन् । सातौँपटकको समय–सीमाको अन्तिम दिन शुक्रबार राष्ट्रपति र कांग्रेस सभापतिसँगको छुट्टाछुट्टै भेटपछि नेता ओलीले स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गरेर राजनीतिक सहमति नजुट्ने बताएका हुन् ।
म्याद सकिने अन्तिम दिन शुक्रबार राजनीतिक निकासका प्रक्रियाबारे ओलीसहितका नेता कांग्रेस सभापति सुशील कोइरालालाई भेट्न महाराजगन्ज पुगेका थिए । ओलीको टोलीमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी र महासचिव ईश्वर पोखरेल पनि सहभागी थिए । राष्ट्रपति डा. रामवरण यादवले दलहरूको मागबमोजिम नै सहमतिमा प्रधानमन्त्री चयन गर्न सातपटकको समय दिइसकेका छन् ।
स्वतन्त्र व्यक्तिका नाममा अनेक विकल्प देखाएर राजनीतिक गतिरोध अन्त्य नहुने उल्लेख गर्दै कोइरालासँगको भेटपछि ओलीले सञ्चारकर्मीसँग भने, ‘स्वतन्त्र व्यक्ति हुँदैन, अनेक प्रकारका तमासा र कार्ड देखाएर हुन्छ र ? दलहरूले नै निकास दिने हो ।’
छलफलपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले सभापतिसँग भेटमा एमाले नेता ओलीले स्वतन्त्र व्यक्तिले सरकारको नेतृत्व गर्दा चुनाव हुनै नसक्ने बताएको जानकारी दिए । सिटौलाका अनुसार ओलीले सहमतिबाट भाग्दै अनेक विकल्पमा नाममा स्वतन्त्र व्यक्तिको नेतृत्व भनेर एमाओवादीले हास्यास्पद प्रस्ताव ल्याएको बताएका थिए ।

प्रतिक्रिया