चिसोले शेरबहादुर वादीको मृत्यु

रुकुम, २० पुस । चिसोले कठ्यांग्रिएर रुकुममा एक जनाको ज्यान गएको छ । रुकुम सदरमुका खलंगास्थित सानीभेरी नदी निकारमा वस्दै आएका ३४ वर्षीय शेरवहादुर वादीको आज विहान ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
घरवार नभएका ४ घर वादी परिवारहरु नदी किनारमा त्रिपाल टाँगेर वस्दै आएका छन् । उनीहरु हिउँदमा नदी किनारको वालुवा र वर्षादमा नजिकैको ओढारमा वस्ने गर्छन् । चिसोले उनको मृत्यु भएको खवर प्राप्त भए लगत्तै प्रहरी टोली पुगेको थियो ।
चिसोले वान्ता आउँने, हातखुट्टा कठ्यांग्रिने भएपछि उनको ज्यान गएको परिवारजनले जनाए । मृतक शेरवहादुरका पत्नी र ४ छोराछोरी छन् ।
चिसोले वादीका अन्य सदस्यहरु समेत प्रभावित भएका छन् । चिसोले गर्दा वालवालिका, वृद्धवृद्धा र सुत्केरी महिलाहरुको जीवन कष्टपूर्ण बनेको छ । एक सातादेखि अत्याधिक वढेको चिसोले नदी किनारका वादी परिवारहरु धैरै प्रभावित भएका हुन् ।
वादी परिवारहरु विगत ५ वर्षदेखि नदी किनारमै वस्दै आएका छन् । केहि संघ संस्थाहरुले उपलब्ध गराएको त्रिपालको झुप्रोमा उनीहरुले रात विताउँने गरेका छन् । पालै पालो आगो तापेर सुत्ने गरेको उनीहरुको दुखेसो छ ।
आम्दानीको कुनै वैकल्पिक पेशा नभएका वादी परिवारहरुको दैनिक गुजारा नदीमा मारेको माछा विक्रीवाट हुने गरेको छ ।

प्रतिक्रिया