सुमेरुको सेवा सुरु सौर्य समाचार

काठमाडौं,२०  पुस । सहकारी अवधारणबाट सञ्चालित भैतिक पूर्वाधार र सुविधासम्पन्न सुमेरु सामुदायिक अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । अस्पतालको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् ।
तीन सय शय्या क्षमता रहेको भए पनि नेपाल सरकारबाट एक सय शय्याको स्वीकृत पाएको अस्पतालले केही महिनाअघि सेवा सुरु गरेको थियो । आफ्नै स्वामित्वको १० रोपनी क्षेत्रफलमा निर्मित ५ वटा भवनबाट अस्पतालले सेवा प्रदान गरिरहेको अस्पतालका अध्यक्ष भरत महर्जनले बताए ।
अस्पतामा नेपालमै पहिलोपटक एन्टी भाइरस, एन्टी फङगल, प्रदूषण र कीटाणुमुक्त आधुनिक एवम् अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न तीनवटा मोडुलर अप्रेसन कक्षको व्यवस्था गरिएको अस्पतालले जनाएको छ । बिरामीको थप सुविधाका लागि ललितपुरको पुल्चोकमा २५ शय्याको सुमेरु सिटी अस्पताल सञ्चालनको तयारीमा रहेको अध्यक्ष महर्जनले बताए । त्यस्तै, बिरामीहरूलाई छिटो र समयमै अस्पतालमा पहुँच पुर्‍याउनका लागि तीनवटा एम्बुलेन्स र एक शववाहनसमेत रहेको उनले बताए ।
अस्पतालले गरिब, असहाय, उत्पीडित र दीनदु:खीका लागि नि:शुल्क स्वास्थ्य परामर्शको व्यवस्था गरिएको छ भने जसका लागि १० शय्यालाई नि:शुल्क कोटाको रूपमा छुट्याइएको महर्जनले बताए । एक सयभन्दा बढी चिकित्सकको नियमित तथा प्रत्यक्ष संलग्नतामा स्वास्थ्यसँग सम्बन्धित सेवा प्रदान गरिने बताइएको छ । स्वास्थ्य क्षेत्रमा विगत १० वर्ष तथा सहकारी क्षेत्रमा २० वर्षदेखि अनुभवी व्यवस्थापन समूहद्वारा सञ्चालित सुमेरु अस्पताल अन्य निजी अस्पतालभन्दा स्वास्थ्य सेवा, गुणस्तर र सहुलियतका दृष्टिले आमसमुदायलाई सहज, सरल र उपयुक्त स्वास्थ्य संस्थाका रूपमा पहिचान दिन सफल हुने महर्जनले दाबी गरे ।
अस्पतालले आगामी पाँच वर्षभित्र सुमेरु सामुदायिक मेडिकल कलेज सञ्चालन गरी एमबिबिएस कक्षा सञ्चालन गर्ने योजना रहेको छ । एक सय शय्याको अस्पताललाई पूर्णसञ्चालन भएको दुई वर्षमा तीन सय शय्याको बनाउने योजना अस्पतालको छ । त्यस्तै, एक वर्षभित्र सञ्चालन गर्ने कार्यक्रममा तीनवर्षे स्टाफ नर्स, दुई बिएन नर्सिङ, चार बिएस्सी नर्सिङ, तीन हेल्थ असिसटेन्ट, तीन ल्याब टेक्निसियन, तीन रेडियोग्राफी र तीन अप्थामोलोजी कार्यक्रम सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
यसअघि अस्पतालले पाँचदिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर आयोजनाबाट १० हजार ११ जना बिरामीलाई नि:शुल्क रूपमा औषधि, एक्सरे, अल्ट्रासाउन्ड, इसिजी, ल्याब परीक्षणलगायत स्वास्थ्यसेवा प्रदान गरेको थियो । शिविरमा आउने बिरामीमध्ये एक सय ५० जनालाई नि:शुल्क जटिल शल्यक्रिया गरिएको थियो । अस्पतालले आकस्मिक सेवा, बहिरंग सेवा, निदानात्मक सेवा, अन्तरंग सेवा, शल्यक्रिया, सघन उपचार सेवा, फामेर्सी सेवा, एम्बुलेन्स सेवा २४ घन्टा नै प्रदान गरिरहेको छ ।

प्रतिक्रिया