लुम्बिनी आउने पर्यटक बढे

रूपन्देही : लुम्बिनीलाई विश्वभर चिनाउने उद्देश्यका साथ सन् २०१२ लाई सरकारले लुम्बिनी भ्रमण वर्ष घोषणा गरेपछि सन् २०११ को तुलनामा २९ दशमलव ०९ प्रतिशत बढी पर्यटकले लुम्बिनीको अवलोकन भम्रण गरेका छन् ।
लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईका अनुसार सन् २०१२ मा बाह्य तथा आन्तरिक गरी कुल सात लाख ५८ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । जसअनुसार सन् २०११ मा कुल पाँच लाख ७८ हजार दुई सय ६९ पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए । गत वर्षभन्दा एक लाख ७० हजार ७ सय ३१ जना बढी पर्यटक यसपटक लुम्बिनी भित्रिएका छन् ।
राईका अनुसार सन् २०१२ मा नेपाली पाँच लाख नौ हजार ७३, भारतीय एक लाख १३ हजार एक सय ९५ तथा अन्य बाहिरी मुलुकबाट एक लाख ३६ हजार एक जना पर्यटक लुम्बिनी भित्रिएका छन् ।
बाहिरी मुलुकअन्तर्गत सबैभन्दा बढी श्रीलंकाली ५२ हजार ६ सय ७१, थाइल्यान्डका २८ हजार चार सय ८०, म्यानमारका १७ हजार पाँच सय ९५, चिनियाँ आठ हजार पाँच सय ९५, दक्षिण कोरियाली पाँच हजार एक सय ५८, भियतनामी तीन हजार पाँच सय ८८, नेदरल्यान्डका दुई हजार एक सय ३५ तथा जापानी एक हजार सात सय ७९ जना रहेको कोषले जानकारी दिएको छ ।
भ्रमण वर्षसँगै लुम्बिनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसारप्रचारमा तीव्रता पाएको राईले बताए ।
उनले भने, ‘भ्रमण वर्ष घोषणाको मुख्य उद्देश्य लुम्बिनी नेपालमै पर्छ भनी चिनाउने थियो, यो पूरा भएको छ ।’ राईले भ्रमण वर्षको अवधिमा लुम्बिनीलाई थप सिँगार्ने तथा नेपालका विभिन्न एक सय आठ स्थानमा दूरी संकेत आधारशीला स्थापना गरिएको जानकारी दिए ।
विदेशी केही पाठयपुस्तकमा लुम्बिनी भारतमा पर्छ भनी लेखिएको पाइएकाले त्यो भ्रम चिर्न भ्रमण वर्ष सफल भएको कोषको भनाइ छ । भ्रमण वर्षको प्रचारप्रसारका कारण लुम्बिनीले नेपाललाई थप चिनाएको लुम्बिनी विकास कोषका सदस्यसचिव अजितमान तामाङले बताए ।
सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ राष्ट्रपति डा. रामवरण यादवले घोषणा र प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उद्घाटन गरेको लुम्बिनी भर्मण वर्ष–२०१२ ले देशमा मात्र नभए अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचार निकै भएको तामाङले दाबी गरे ।

प्रतिक्रिया