टेलिफोन प्रयोगकर्ता दुई करोड

काठमाडौं : मुलुकमा टेलिफोन प्रयोगकर्ताको संख्या एक करोड ८४ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको दूरसञ्चार सूचकांकअनुसार देशभर कुल टेलिफोनको संख्या एक करोड ८४ लाख ५१ हजार एक सय सात रहेको छ ।
टेलिफोन प्रयोगकर्तामध्ये सबैभन्दा बढी मोबाइलका छन् । विभिन्न कम्पनीका गरी एक करोड ६३ लाख ७९ हजार ५६ मोबाइल प्रयोगकर्ता रहेको तथ्यांक छ । मोबाइल फोनको प्रयोगमा भएको वृद्धिसँगै टेलिफोनको घनत्व र पहुँचमा वृद्धि देखिएको छ । देशका सबै गाविसमा टेलिफोन सेवा पुगिसकेको छ । मोबाइलको मात्र घनत्व ६१ दशमलव ८२ प्रतिशत छ ।
फिक्स्ड लाइन पिएसटिएनका ग्राहक ६ लाख ३८ हजार पाँच सय ७१ छन् । त्यस्तै, एक लाख ९५ हजार सात सय ८१ डब्लुएका ग्राहक छन् । विभिन्न प्रविधिका गरी टेलिफोनको घनत्व ६९ प्रतिशत ६३ पुगेको छ ।
पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताको संख्यामा पनि वृद्धि भइरहेको छ । वाइफाई, केबुल मोडेम, एडिएसएल, जिपिआरएसलगायत विभिन्न प्रविधिका गरी ५५ लाख २६ हजार ९ सय इन्टरनेट प्रयोगकर्ता छन् । इन्टरनेट प्रयोगकर्तामध्ये सबैभन्दा बढी मोबाइलबाट चलाउन मिल्ने जिपिआरएस प्रविधिका छन् । ५५ लाखमध्ये ५१ लाख भन्दा बढी जिपिआरएसका छन् । (सौस)

प्रतिक्रिया