युवा संघ बैठकमा कोषाध्यक्षको ‘तमासा’

काठमाडौं,  २० पुस । आफूले प्रस्ताव गरेका व्यक्तिलाई केन्द्रीय सदस्यमा मनोनीत नगरिएको भन्दै एमाले भ्रातृसंगठन युवा संघ नेपालकी कोषाध्यक्ष नीरु पालले राजीनामा दिएकी छन् । कोषाध्यक्ष पालको राजीनामा भने संघका अध्यक्ष महेश बस्नेतले गोप्य राखेका छन् ।
१५ पुसमा बसेको संघको केन्द्रीय समिति बैठकमा पालले बुटवलका ध्रुव आचार्यलाई केन्द्रीय सदस्यमा मनोनीत गर्न प्रस्ताव राखेकी थिइन् । तर, बैठकमा महासचिव निरज आचार्यलगायत पदाधिकारीले विधानविपरीत नयाँ सदस्य मनोनीत गर्न नपाउने अडान राखेपछि उनको प्रस्ताव अस्वीकृत भएको थियो । बैठकले ११ फागुनदेखि तीन दिन बुटवलमा अधिवेशन गर्ने निर्णय गरेको छ ।
स्रोतका अनुसार बैठकअघि नै पालले आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गर्न अध्यक्ष बस्नेत र पार्टीका युवा इन्चार्ज योगेश भट्टराईसित लबिङ गरेकी थिइन् । उनले आचार्यलाई मनोनीत गर्ने सर्तमा मात्रै आफूहरू बुटवलमा अधिवेशन गर्न सहमत भएको बताएकी थिइन् । उनको आग्रहअनुरूप इन्चार्ज भट्टराई र अध्यक्ष बस्नेत दुवैले महासचिवसित पनि प्रस्तावित व्यक्तिलाई मनोनीत गर्ने विषयमा छलफल गरेका थिए । महासचिवले भने ‘मेरो राजीनामा तपार्इंहरूलाई चाहिन्छ भने लिनुस् तर विधानविपरीत मनोनीत गर्न म सहमत हुन सक्दिनँ’ भन्दै अस्वीकार गरेका थिए ।
त्यसपछि पालले आफूले भनेको व्यक्ति मनोनीत नभए ‘नोट अफ डिसेन्ट’ लेख्ने घुर्की लगाएकी थिइन् । तर, पालको कुरामा अध्यक्षसमेत सहमत नभएपछि उनले बैठकमै तमासा देखाइन् । एक पदाधिकारीका अनुसार सुरुमा उनले अध्यक्षलाई ‘नोट अफ डिसेन्ट’ लेख्ने घुर्कीसहितको चिट दिइन् । त्यसलाई पढेर अध्यक्षले उनैलाई फिर्ता गरिदिए । पछि पालले एसएमएसमार्फत अध्यक्षसित संवाद गर्न थालिन् ।
बैठक कक्षमा घरी खुट्टा ठटाएर हिँड्ने, घरी रुन्चे स्वरमा बोल्ने र घरी रन्थनिएजस्तो गरेर भित्र–बाहिर गर्ने काम पालले गरिन् । ‘साह्रै केटाकेटी पाराले प्रस्तुत हुनुभयो । अध्यक्ष बोल्दाबोल्दै रोक्ने, खुट्टा ठटाउने, ढोका ढ्याम्म पार्नेजस्ता काम गर्नुभयो,’ एक पदाधिकारीले सौर्यसँग भने, ‘संघको कुनै कमिटीमा नभएको व्यक्तिलाई विधानविपरीत किन मनोनीत गर्नुपरेको हो बुझिनसक्नु छ ।’
स्रोतका अनुसार आफूले गरेको प्रस्ताव सबैले अस्वीकार गरेपछि पाल ‘तपाईहरू जे मन लाग्छ त्यही गर्नुस्’ भन्दै ढोका ढ्याम्म गरेर बाहिरिएकी थिइन् । बैठकको निर्णय सार्वजनिक गर्न १६ गते बल्खुमा आयोजित पत्रकार सम्मेलनमा समेत उनी अनुपस्थित थिइन् । आºना कुरा ‘कसैले नसुनेको’ भन्दै उनले फोनमार्फत एमाले नेता केपी ओलीसित गुनासो गरेको स्रोतले जनाएको छ । अधिवेशननजिक रहेका कारण पालको राजीनामाबारे कोही पदाधिकारी औपचारिक रूपमा बोल्दैनन् ।
महासचिव आचार्यले कोषाध्यक्षले ल्याएको प्रस्ताव बैठकमा अस्वीकृत भएको प्रतिक्रिया दिए । ‘उहाँ (पाल)ले प्रस्ताव ल्याउनुभएको थियो तर अस्वीकृत भयो । उहाँ अलि निराश बन्नुभयो,’ आचार्यले भने ।
कोषाध्यक्ष पालले भने आफूले राजीनामा नदिएको दाबी गरिन् । ‘मनोनीतका लागि प्रस्ताव गरेको त हो तर राजीनामा दिएको छैन । अधिवेशनको मुखमा त्यस्तो हल्ला फिँजाइएको हो,’ उनले भनिन् । सबैले गरेको प्रस्ताव स्वीकृत नहुन पनि सक्ने उनले बताइन्

प्रतिक्रिया