‘प्रधानमन्त्री मात्र फेर्ने कुराले निकास दिँदैन’

बाग्लुङ, १९ पुस । प्रधानमन्त्री बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले प्रधानमन्त्री फेर्ने कुरा मात्र गरेर देशले निकास नपाउने बताएका छन् ।
क्रान्तिकारी पत्रकार संघले आज बिहान बाग्लुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले बिपक्षी दलहरुले प्रधानमन्त्री मात्र फेर्ने कुरा गरेर देशलाई अन्यौलमा राख्न चाहिरहेको आरोप लगाए ।
‘कांग्रेस र एमालेको प्रधानमन्त्री फेर्ने कुराले मात्र निकास नहुने निश्चित भएको छ,’ उनले भने, ‘राजनीतिक सहमति गरेर निर्वाचन तोकेपछि मात्र अर्काे व्यक्ति प्रधानमन्त्री हुन सक्छ ।’
अहिले बिपक्षी दलहरुले प्रधानमन्त्रीलाई नमान्ने र एमाओवादीले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्व अस्वीकार गरिरहेकाले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाएर जानुनै उत्तम बिकल्प हुने उनको भनाई छ ।
वैधानिक सरकारलाई हटाएर विना सहमति अर्काे व्यक्तिलाई प्रधानमन्त्री बनाउँदा आगामी दिनमा राष्ट्रपतिले चलखेल गर्ने अवसर पाउने भन्दै उनले प्रधानमन्त्री भट्टराईलाई फेर्ने कुरामा मात्र आफूहरुले नमान्ने बताए ।
चुनावी बातावरण तयार गर्न कांग्रेस र एमाले बाबुराम भट्टराई नेतृत्वको सरकारमा आउनु पर्ने बताएका उनले भने, ‘त्यसपछि मात्र सुशील कोइरालालाई प्रधानमन्त्री मानेर जान सकिन्छ ।’
उनले वर्तमान सरकारको सत्ता कब्जा गर्ने कुनै योजना नरहेको बताए । सत्ताकब्जा गर्न लागेको आरोप सबै झुठ रहेको पौडेलले दाबी गरे ।

प्रतिक्रिया