पर्यटकीय क्षेत्र उपरदाङगढी ओझलमा

शक्तिखोर, १९ पुस । पर्यटकीयस्थल उपरदाङगढी उचित संरक्षण अभावमा ओझलमा परेको छ । सरकारी निकायको उदासीनताका कारण यो क्षेत्र ओझलमा परेको हो ।
जिल्ला विकास समितिसँगै यहाँ रहेका पर्यटन व्यवसायीको उदासीनका कारण यो ठाउँ थप संकटमा पर्दै गएको हो । उपरदाङगढीको संरक्षणमा उचित कदम चाल्न नसक्दा पर्यटकीय महत्त्वको आकर्षणका रूपमा जिल्लाको विकट पहाडी क्षेत्रमा रहेको उपरदाङगढी जीर्ण बन्दै गएको हो । नेपालको तेस्रो पर्यटकीय केन्द्रका रूपमा चितवन रहे पनि सम्बन्धित निकायको बेवास्ताका कारण पर्यटकीय सम्भावना बोकेको उपरदाङगढीको वर्षौं बितिसक्दा पनि संरक्षण हुनसकेको सरोकारवाला बताउँछन् ।
उपरदाङगढीको संरक्षण गरी सो ठाउँमा पर्यटक लैजान मात्र सके चितवनमा आउने पर्यटकको बसाइ लम्बिने तथा विदेशी पर्यटक जिल्लामा भित्रिने निश्चित भएको नेचर गाइड जितबहादुर तामाङ बताउँछन् । पर्यटन क्षेत्रको विकासका लागि जिल्ला विकास समिति चितवनले वार्षिक रूपमा रकम विनियोजन गरेको रकम पर्यटकीय सम्भावनाका ठाउँको अवलोकन भ्रमण गरेर मात्र सकिने गरेकाले जिविसले विनियोजन गर्ने रकम उपरदाङगढीको संरक्षणमा खर्च हुन सकेको छैन । उपरदाङगढीको संरक्षण गरेर सो क्षेत्रमा पर्यटक लैजान सकिने सम्भावन हुँदाहँुदै सरकारी निकायको उदासीनताले महत्त्वपूर्ण गढी ओझेलमा परेको गढीलाई लामो समयदेखि नियालिरहेका चितवन पर्यटन विकास समितिका पूर्वअध्यक्ष जिएन थपलियाले बताए ।
यो क्षेत्र समुन्द्री सतहदेखि एक हजार दुई सय ७५ मिटर उचाइ तथा ६ सय ३९ स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । चितवन दाहखानी गाविसमा गढी रहेको छ । लामो समयसम्म संरक्षण हुन नसक्दा अहिले भग्नावशेस मात्र देख्न सकिने चितवन जिविसअन्तर्गत रहेको पर्यटन विकास शाखाका प्रमुख राजेन्द्र सुवेदीले जानकारी दिए । गढीभित्रको अवस्था जीर्ण भए पनि महत्त्वपूर्ण संरचना मात्र पुरानो अवस्थामा रहेका छन् । गढीभित्र तोप, गोली, गठठ राख्ने गरिन्थ्यो र गढी परिसरमा विभिन्न पुरातात्त्विक एवं ऐतिहासिक चिनो अहिले पनि छन् ।
यहाँ पानीको लागि निर्माण भएको इनार, युद्धमा प्रयोग गर्न बनाइएका बंकर तथा गढीभित्रै वाल्मीकि तथा बज्रयोगिनीको मन्दिर एवं देवताका मूर्ति रहेका छन् । किल्लाबाहिर भगवती, गणेश, कालिकाको मूर्ति रहेका छन् । यस्तै पुरातात्त्विक वस्तु स्वदेशी तथा विदेशी पर्यटकलाई देखाएर पर्यटक लोभ्याउन सकिन्थ्यो नेचर गाइड एव संरक्षणकर्मी लोकगायक प्रकाशचन्द्र भट्टराईको अनुभव छ । अङग्रेजसँग लड्दा प्रयोग भएका सामग्री र लड्नलाई केन्द्र बनाइएको गढी संरक्षणको लागि आजसम्म कसैले पनि चासो नदेखाएको उपरदानगढीका विज्ञ सूर्यबहादुर मास्कल बताउँछन् । यो विश्वसामु लडेको ठाउँ मात्र होइन जिल्लाको पुरानो सदरमुकाम पनि हो, मास्केले भने, ‘पुरानो सदरमुकामको दृष्टिकोणले पनि चितवनका सरकारी निकायले यसको संरक्षण गर्नु पर्छ ’।
सौराहामा फुड फेस्टिबल हुने
चितवनको पर्यटकीय नगरी सौराहामा प्रत्येक वर्ष सौराहामा हँुदै आएको  सौराहा फुड फेस्टिबल योपटक दुईदेखि ५ फागुनसम्म हुने भएको छ ।
चितवन हात्ती महोसत्व एवं नवौँ हात्ती दौड प्रतियोगिता सकिएलगतै यहाँका व्यवसायी सौराहा फुड फेस्टिबलका लागि जुटेका हुन् । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाको आयोजनामा सम्पन्न हुने फुड फेस्टिबलका लागि राजन भट्टको संयोजकत्वमा नौ सस्दयीय मूलसमिति र १६ वटा उपसमिति निर्माण गरिसकेको रेवान सौराहाका अध्यक्ष सुवासचन्द्र गौतमले बताए ।
भ्यालेन्टाइन डेको अवसर पारेर सौराहामा आयोजना हुन लागेको सौरहा फुड फेस्टिबल ‘प्राकृतिक सौन्दर्य सौराहा चितवनको विशेषता’ भन्ने मूल नाराका साथ सौराहा फुड फेस्टिबल हुने भएको रेवानका अध्यक्ष सुवासचन्द्र गौतमको भनाइ छ । सातौँपटक रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) सौराहाको आयोजनामा हुन लागेको फेस्टिबल सम्पन्न गर्नका लागि प्रचारप्रसार तथा व्यवस्थापन उपसमितिले आआफ्नो कामलाई सुरुसमेत गरेको रेवान सौराहाका सहसचिव नवीन नेपालले जानकारी दिए । फुड फेस्टिबलमा खानाको परिकार सँगसँगै डोरी तान्ने प्रतियोगिता, वेटर रेस, म:म खाने प्रतियोगिता, जुस पिउने प्रतियोगिता हुने आयोजकले जनाएको छ । साथै यो वर्ष गुन्द्रुक र ढिडो खाने साथै मकै र भटमास खाने प्रतियोगिता थप गरिएको संयोजक भटले जानकारी दिए ।
राप्ती नदी किनारमा हुने फेस्टिबलमा दैनिक ख्यातिप्राप्त कलाकारले आफ्नो प्रस्तुति प्रस्तुत गर्ने छन् । अंग्रेजी नयाँ वर्ष सुरु हुनु दुई महिनाअगाडि र त्यसपछिको तीन महिनाजति समय सौराहाको लागि अफ सिजन हुने रेवान सौराहाका पूर्वअध्यक्ष पुरुषोत्तम श्रेष्ठ बताउँछन् । यो समयमा धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन रेवान सौराहा र क्षेत्रीय होटल संघ सौराहाले पर्यटकलाई आकर्षित गर्न विविध कार्यक्रमलाई निरन्तरता दिँदै आएको श्रेष्ठको तर्क छ । फेस्टिबलमा साठी हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र पचास लाखभन्दा बढी कारोबार हुने आयोजकले दाबी गरेका छन् ।

प्रतिक्रिया