हिरासतमा माओवादी नेता तिवारीको रहस्यमय मृत्यु

भैरहवा,  १९ पुस  । नेकपा–माओवादीका अवध राज्य समिति सदस्य शैलेश तिवारीको प्रहरी हिरासतमा रहस्यमय मृत्यु भएको छ । पार्टी महाधिवेशन तयारी प्रचारप्रसारका क्रममा रहेका तिवारीको रोहिणिहवा प्रहरीचौकीमा बुधबार दिउँसो ३ बजे रहस्यमय मृत्यु भएको माओवादीले जनाएको छ ।
रोहिणिहवा प्रहरीचौकीअगाडि दिउँसो २ बजेतिर चिया खाइरहेको अवस्थामा सिभिल पोसाकका प्रहरीले सोधपुछका लागि प्रहरीचौकीमा लगेको एक घन्टामै तिवारीको मृत्यु भएको पार्टीका रूपन्देही इन्चार्ज वसन्त श्रेष्ठले जानकारी दिए ।
उनले तिवारीको मृत्युले पार्टीलाई गम्भीर बनाएको बताउँदै पार्टीमा छलफल गरी संघर्षका कार्यक्रम गरिने बताए । रूपन्देही फरेना–२ का ३५ वर्षीय तिवारी उच्च रक्तचापको बिरामी भएका कारण मृत्यु भएको रूपन्देही प्रहरीले जनाएको छ । डिएसपी पोषराज पोखरेलले प्रहरी चौकीमा सोधपुछ गर्दा तिवारीको प्रेसर हाई भएर दुई सय २० नाघेपछि स्थानीय अहेवले चेक जाँच गरेका थिए । उच्च रक्तचापका कारण बिरामी भएका उनलाई एम्बुलेन्सबाट भैरहवास्थित मेडिकल कलेजमा उपचार गर्न ल्याउँदा अस्पताल प्रशासनले मृत घोषणा गरेको थियो ।

प्रतिक्रिया