डाक्टर पढ्न गएका विद्यार्थी अलपत्र

काठमाडौं, १७ पुस । छात्रवृत्तिमा चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस र एमडी अध्ययन गर्न गएका ७० विद्यार्थी अलपत्र परेका छन् । काठमाडौंस्थित मदरल्यान्ड चारिटेबल फाउन्डेसनले विश्वविद्यालयमा ‘फी’ नबुझाइदिँदा एमबिबिएस र एमडी अध्ययन गर्न गएका विद्यार्थी अलपत्र परेका हुन् ।

फाउन्डेसनले ती विद्यार्थीबाट पूरै रकम लिए पनि विश्वविद्यालयमा नबुझाइदिँदा अलपत्र परेको सोमबार आयोजित पत्रकार सम्मेलनमा अभिभावक उज्ज्वल खनालले जानकारी दिए । फाउन्डेसनले विद्यार्थीबाट फी चार करोड ५० लाख रुपियाँ उठाए पनि अझैसम्म विश्वविद्यालयलाई बुझाएको छैन । ‘फी फाउन्डेसनले नबुझाइदिँदा हाम्रा छोराछोरीसँग विश्वविद्यालयले रकम मागिरहेको छ,’ उनले भने, ‘कि फी तिर कि पढ्न छोड भनिरहेको छ । एकपटक बुझाइसकेका छौँ, अब कसरी बुझाउने ।’
फाउन्डेसनले एमबिबिएसबाट १२ लाखका दरले र एमडी अध्ययन गर्नेबाट सात लाख ५० हजार रुपियाँका दरले फी लिइसकेको छ । ५० प्रतिशत छुट दिने प्रलोभनमा उनीहरू चीनका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न गएका थिए । फाउन्डेसनले ५० प्रतिशत छुटमा चीनका विभिन्न विश्वविद्यालयमा एमबिबिएस र एमडी अध्ययन गर्न पाइन्छ भनेर विज्ञापन देखेर उनीहरूले आफ्ना छोराछोरीलाई अध्ययन गर्न पठाएका थिए । ‘५० प्रतिशत छात्रवृत्ति छुटको लोभमा फाउन्डेसनमार्फत छोराछोरी पढ्न पठाइयो,’ खनालले भने, ‘तर, फाउन्डेसनले पैसा खाएर फी नै तिरेको रहेनछ ।’
विगत ३ वर्षदेखि चीनका विभिन्न विश्वविद्यालयमा सस्तोमा एमबिबिएस र एमडी अध्ययन गराउने भनेर फाउन्डेसनले विद्यार्थी पठाउँदै आएको थियो । विद्यार्थीबाट पूरा पैसा लिने तर विश्वविद्यालयलाई नबुझाउने भएपछि अभिभावकले उजुरी गरेपछि प्रहरीले फाउन्डेसनका सञ्चालक राजाबहादुर झालाई पक्राउ गरेको छ । अन्य तीनजना सञ्चालकहरू मुकेश झा, अनिता शाक्य र प्रविना खोखाली फरार छन् । फाउन्डेसनका सञ्चालकहरूले अभिभावकसँग विश्वविद्यालयले नभई डोनरले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भन्दै ती विद्यार्थीलाई ५० प्रतिशत छुटमा चीन अध्ययन गर्न पठाएको थियो । फाउन्डेसनमार्फत साउदर्न विश्वविद्यालयमा ८ जना एमबिबिएस, लाउनिङ विश्वविद्यालयमा १७ जना एमडी, चाउचाङ विश्वविद्यालयमा ६ जना एमबिबिए र ८ जना एमडी, क्यिन्डो विश्वविद्यालयमा ११ जना एमबिबिएस र ताइजिन विश्वविद्यालयमा २ जना एमडी अध्ययन गरिरहेका छन् ।
फाउन्डेसनले फी लिएर नतिरीदिँदा २ जना अध्ययन नै नगरी फर्केका छन् । एमबिबिएस अध्ययन गर्न गएका काठमाडौंकी रुवि सिंह र धादिङका सन्तोष बस्याल फर्केका हुन् । उनीहरू दुवैले १२ लाख रुपियाँका दरले फाउन्डेसनलाई बुझाएका थिए । तर, फाउन्डेसनले फी नतिरिदिँदा बीचैमा अध्ययन छाडी उनीहरू फर्केका हुन् ।
फाउन्डेसनले ती विद्यार्थीको विश्वविद्यालयमा ६ महिनादेखि २ वर्षसम्मको फी मात्र बुझाएको अभिभावक निला झाले बताइन् । ती विश्वविद्यालयमा एमबिबिएस ६ र एमडी चारवर्षे कोर्स गर्न समय लाग्ने गरेको छ । फाउन्डेसनका सञ्चालकहरूले विश्वविद्यालयसँग अध्ययनका लागि कुनै पनि किसिमको सम्झौता गरेको पाइएको छैन । ‘विज्ञापन देखेर ५० प्रतिशत छुटमा पढ्न पाउने भनेर खुरुखुरु सबै पैसा बुझाइयो,’ उनले भनिन्, ‘तर, अहिले आएर फाउन्डेसनले नबुझाइदिँदा हामी ठगियौँ ।’

प्रतिक्रिया