तीन बालबालिकाको बिचल्ली

दैलेख, १७ पुस । ‘आमा अस्पतालमा छन् बुबा जेलमा,’ १० वर्षीय कालु बादीले भने, ‘म त बुझ्ने भएँ तर साना भाइबहिनीको बिचल्ली भयो ।’

आमाबाबुको वियोगपछि उनीसहित तीनैजना छिमेकी सर्पजित बादीको घरमा बसेका छन् । दिनभर ज्याला–मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्ने परिवारका अभिभावक नहुँदा बिचल्लीमा परेका छन् । १० वर्षीय कालु बादी, आठ वर्षीया पुष्पा बादी र चार वर्षीय टुनटुन बादी घरको चिसो भुइँमा रात काटिरहेका छन् ।
स्थानीय विद्यालयमा कक्षा एकमा पढ्दै गरेका कालु स्कुल नगई दुई भाइ बैनीलाई आफन्तकहाँ लगेर खाना खुवाउने काममा लागेका छन् । जिल्लामा बालबालिकासम्बन्धी काम गर्ने थुप्रै संघसंस्था भए पनि यी तीन नाबालकको बिचल्ली छ । कालुकी आमा कावली सार्की जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छिन् भने पतिले नै जलाएको आरोपमा प्रहरीले बाबु कमारो बादीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया