बिन्दुको हत्या परिवारबाटै

वीरगन्ज, १७ पुस । बारा, प्रस्टोकाकी किशोरी बिन्दु ठाकुरको हत्या आफ्नै परिवारका सदस्यले गरेको निष्कर्षमा प्रहरी पुगेको छ । गाउँकै एक युवकसित प्रेमसम्बन्ध राखेको निहुँमा उनकै बाबु रामा ठाकुरले हत्या गरेको हुनसक्ने प्रहरीले ठहर्‍याएको हो ।

परिवारका सदस्यले गत बिहीबार टयुसन पढ्न गएका बेला अपरिचत समूहले बिन्दुलाई जलाएर हत्या गरेको बताएका थिए । तर, प्रहरीले हत्यामा घरपरिवारकै सदस्यको संलग्नता रहेको आशंका गर्दै बाबु ठाकुरलाई शुक्रबार नै हिरासतमा लिएको थियो । ‘तीन दिनको अनुसन्धानपछि बिन्दुको हत्यामा बाबु ठाकुरकै मुख्य संलग्नता रहेको देखियो,’ इन्स्पेक्टर रामनाथ घिमिरेले भने । ठाकुरले छोरीको हत्या गरी शव जलाएर घरनजिकैको बाँसघारीमा फालेको उनको भनाइ छ ।
‘घरमै हत्या गरेपछि जिउमा मट्टितेल छर्केर आगो लगाएको देखियो,’ घिमिरेले भने । शव भेटिएको स्थानमा बिन्दुका बाबु ठाकुरको टर्च लाइट फेला परेको छ । शवमा आगो लगाउन प्रयोग गरिएको मट्टितेलको भाँडो पनि घरभित्रै लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । जलेको अर्धनग्न शरीरलाई घरबाटै लगेको सलले छोपेको अवस्थामा फेला परेको इन्स्पेक्टर घिमिरेले बताए ।
अनुसन्धानका क्रममा पुष्टि भइसके पनि रामाले अझैसम्म छोरीको हत्या स्वीकार गरेका छैनन् । जेठी छोरीको विवाहको तयारीमा जुटेका रामाले अर्की छोरी बिन्दु गाउँकै युवकसित प्रेममा फसेको हल्ला गाउँभर चलेपछि मानसिक तनावमा आएर हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । स्थानीयवासीले बताएअनुसार रामाले केही महिना यसै विषयलाई लिएर बानी सुधार्न बिन्दुलाई धम्क्याएका पनि थिए । हत्यामा अरू क–कसको संलग्नता थियो भन्नेबारे थप अनुसन्धान भइरहेको इन्स्पेक्टर घिमिरे बताए । ‘छिट्टै त्यो पनि सार्वजनिक गर्छौं,’ उनले भने । बिन्दुसँग सम्पर्क बढेको भनिएका युवकको पनि पहिचान भइसकेको छ । प्रहरीले उनलाई पनि अनुसन्धानको दायरामा राखेको छ । हत्याका आरोपी रामा ठाकुरलाई प्रहरीले सोमबार नै जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ ।

पोस्टमार्टम रिपोर्ट नै शंकास्पद
चिकित्सकले बिन्दुको हत्या आगोले जलाएर भएको पुष्टि गरे पनि प्रहरीले चिकित्सकको पोस्टमार्टम रिपोर्टप्रति आशंका गरेको छ । जिल्ला अस्पताल कलैयाले प्रहरीलाई उपलब्ध गराएको पोस्टमार्टम रिपोर्टमा बिन्दुको जलाएर हत्या गरिएको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय बाराका एक प्रहरी अधिकृतले शवको प्रकृति हेर्दा जलेकै कारण मृत्यु हुन नसक्ने बताए । बिन्दुको शरीरको माथिल्लो भागको छाला मात्रै जलेकाले मृत्युको अन्य कारण हुनसक्ने प्रहरीको आशंका छ ।
जिल्ला अस्पताल कलैयाका डा. अभिषेक सिंह, डा. प्रकृति ऊर्जा र डा. राजु कुशवाहाको टोलीले बिन्दुको शवको पोस्टमार्टम रिपोर्ट तयार पारेको हो । प्रहरीलाई बुझाइएको रिपोर्टमा मृत्युको समयसमेत खुलाइएको छैन । डा. सिंहले तीनजनाको टोलीले शव परीक्षण रिपोर्ट तयार पारेको हुँदा आफूले केही प्रतिक्रिया दिन नमिल्ने बताए । हत्याको अनुसन्धानमा प्रहरीको पनि लापरबाही देखिएको छ । शव पोस्टमार्टमको रिपोर्ट नआउँदै प्रहरीले दाहसंस्कारका लागि शव आफन्तको जिम्मा लगाएको थियो । बिहीबार बिहान प्रहरीले शव आफन्तको जिम्मा लगाएपछि सोही दिन आफन्तले बिन्दुको अन्तिम संस्कार गरे । पोस्टमार्टमको लिखित रिपोर्ट नआएसम्म शवको दाहसंस्कार गर्न नपाइने कानुनी प्रावधान छ ।
पोस्टमार्टम रिपोर्टप्रति अस्पतालकै अन्य चिकित्सकको पनि असन्तुष्टि छ । ‘जिउको कुनै पनि भाग गम्भीर रूपले जलेको देखिएन,’ अस्पतालका एक चिकित्सकले सौर्यसँग भने, ‘अनुहार र जिउको छाला मात्र सामान्य जलेको छ, यस्तो अवस्थामा जलेकै कारण मृत्यु भएको भन्न गाह्रो छ ।’
यता जिल्लास्थित विभिन्न गैरसरकारी संघसंस्थाले हत्यारालाई कारबाही, शव परीक्षणमा संलग्न चिकित्सकलाई कारबाही र घटनाको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गर्दै सोमबार सदरमुकाम कलैयामा प्रदर्शन गरेका छन् । बिन्दुको शव परीक्षणको वास्तविक प्रतिवेदन चिकित्कसहरूले लुकाएको हिमराइट्स बाराका कार्यक्रम संयोजक ओम प्रकाश गिरीले बताए ।

प्रतिक्रिया