टेलिकमविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, १६ पुस । नेपाल टेलिकमलाई झन्डै १० करोड घाटा पुर्‍याएको भन्दै टेलिकमका अधिकारीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । टेलिकमका अधिकारीहरूले अधिकारको दुरुपयोग गर्दै मोबाइल रिचार्जकार्ड अर्डरमा बदमासी गरेको दाबी उजुरीमा गरिएको छ ।

स्रोतका अनुसार उजुरीमा टेलिकमका अधिकारीहरूले स्थापित मूल्यमान्यतालाई पाखा लगाउँदै कम्पनीलाई आर्थिक रूपमा घाटा पुर्‍याएका मात्र होइन, ग्राहकमाथि विभिन्न समस्या थोपरेका तथ्य प्नि पेस गरिएको छ ।
टेलिकमको ११ चैत २०६७ मा आह्वान गरिएको बोलपत्रअनुसार टेन्डर प्रदान गरिएको भारतीय कम्पनीले बोलपत्रमा उल्लेख भएको मापदण्ड उल्लंघन गरी रिचार्जकार्डमा कमसल पेपर प्रयोग गर्दा टेलिकमलाई करिब अढाई लाख अमेरिकी डलर घाटा भएको दाबी उजुरीमा गरिएको छ । रिचार्जकार्डमा ३०० जिएसएम तौलको कागज प्रयोग गर्नुपर्नेमा भारतीय कम्पनीले २७० जिएसएम तौलको कागज मात्र प्रयोग गरेको उजुरीमा उल्लेख छ ।
कम तौलको कागज प्रयोग गरेपछि टेलिकमले कागजकै मूल्यमा करिब १० प्रतिशतको नोक्सानी बेहोर्नुपरेको उजुरीमा दाबी गरिएको छ । करिब १७ लाख अमेरिकी डलरको सो टेन्डर ३० करोड रिचार्ज पिनका लागि सो कम्पनीलाई दिइएको थियो । टेन्डरको करिब ५० प्रतिशत रकम रिचार्जकार्डको कच्चा पदार्थका लागि तोकिएका कारण कम तौलको पेपर प्रयोग गरिँदा टेलिकमले ८५ हजार अमेरिकी डलरको नोक्सानी बेहारेको तथ्य पनि उजुरीमा पेस गरिएको छ ।
उजुरीमा विश्वका टेलिकम कम्पनीले रिचार्जकार्डका लागि आर्ट बोर्ड पेपर वा टेलिकार्ड पेपर प्रयोग गर्ने स्थापित मान्यतालाई समेत टेलिकमले ध्यान नदिएको आरोप लगाइएको छ । अहिले टेलिकमले बजारमा उपलब्ध गराएको रिचार्जकार्ड कमसल खालको डुप्लेक्स पेपरबाट बनेको र यो पेपर भारतमा आर्ट बोर्ड पेपरभन्दा ३० प्रतिशत र टेलिकार्ड पेपरभन्दा ४० प्रतिशत कम मूल्यमा पाइन्छ ।
कमसल कागज प्रयोग गरेका सम्बन्धमा धेरै उजुरी पर्दा पनि टेलिकमले कुनै चासो नदेखाएको उजुरीमा उल्लेख छ । टेलिकमले कागजको गुणस्तरमा ध्यान नदिएर केही भारतीय रिचार्जकार्ड निर्माता कम्पनीका पक्षमा प्राविधिक मापदण्ड तयार गरिदिएको पुष्टि हुन्छ र यसले टेलिकम र यसका ग्राहकलाई घाटा मात्रै पुर्‍याएको छ । ‘कागजमा ३० प्रतिशत रकम जोगाउनु भनेको करिब २ लाख ५५ हजार अमेरिकी डलरको घाटा थोपर्नु हो, जुन रकम कागजको करिब आधा मूल्य नै हुन जान्छ’, उजुरीमा उल्लेख छ ।
ग्राहकले कार्ड स्क्रयाच गर्दा पिन नम्बर गायब हुनेसम्बन्धी विभिन्न सञ्चारमाध्यममा आएका समाचारलाई पनि उजुरीमा समावेश गरिएको छ । राजधानीकै नक्साल क्षेत्रमा विभिन्न पसलबाट खरिद गरिएका रिचार्जकार्ड प्राविधिक मापदण्ड पूरा नगरिएका कमसल गुणस्तरका पाइएको उजुरीमा टेलिकमले यस्ता जनगुनासा सुन्ने नगरेको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया