खाद्य संस्थानले चामलको मूल्य घटायो

सोलुखुम्बु, १५ पुस । नेपाल खाद्य संस्थानले सोलुखुम्बुका लागि गत आर्थिक वर्ष ०६८/६९ का लागि विनियोजन गरेको चामल बिक्री नभएपछि मूल्य घटाएको छ ।

बजार मूल्य र खाद्य संस्थानले बिक्री गर्ने चामलको भाउ एउटै भएपछि संस्थानले प्रतिकेजी चामलमा दुई रुपियाँ घटाएको हो । नयाँ दरअनुसार अब चामलको मूल्य प्रतिकेजी ३८ रुपियाँ कायम गरिएको छ ।
चामलको भाउ घटाएपछि चामल बिक्री हुने संस्थानको अपेक्षा छ । ‘बजार मूल्य र खाद्यको भाउ एउटै भएपछि उपभोक्ताले बजारबाटै किनेर लैजान थाले, अब चाहिँ उपभोक्ता आउलान् भन्ने आशा छ,’ नेपाल खाद्य संस्थान शाखा कार्यालय सल्लेरीका प्रमुख गंगाप्रसाद साहले बताए ।
चालु आवमा चामल ढुवानी गर्ने बेला समय नाघिसक्न लागेको छ । यस्तो अवस्थामा गत आवको चामल बिक्री नभएपछि संस्थानले चामलको भाउ घटाउनुपरेको संस्थानले जनाएको छ । ‘चालु आवको चामल ढुवानी गर्ने बेला भइसक्यो, गोदाममा टनाटन चामल छ ।’ चामल बिक्री गरी गोदाम खाली भएपछि चामल ढुवानी गर्ने साहले बताए ।
विगत वर्षमा सधँ जसो चामलको हाहाकार हुने सोलुखुम्बुमा यस वर्ष खाद्य संस्थानको चामल बिक्रीसमेत भएन । खाद्य संस्थानले गत आवमा सल्लेरी डिपोका लागि विनियोजन गरेको दुई हजार क्विन्टल चामलमध्ये अझै १५ सय क्विन्टल चामल मौज्दात छ ।
चामलको भाउ घटाएपछि क्रेताको चहलपहल बढ्न थालेको छ । संस्थानले घटाएको चामलको मूल्य बजार भाउभन्दा प्रतिकेजी दुई रुपियाँ कम भएपछि उपभोक्ता आकर्षित हुन थालेका छन् । सधँैजसो बजारको चामल उपभोग गर्दै आएका सर्वसाधारणसमेत खाद्य संस्थानमा आउन थालेका छन् ।
सल्लेरी–२ फाप्लुकी सन्जु बोहोरा भन्छिन्, ‘मूल्य उस्तै हुँदा त हामी बजारबाटै लैजान्थ्याँ, मूल्य घटेकाले खाद्य संस्थानमा आएका हाँ ।’ सल्लेरीकै निरमाया तामाङसमेत बजार भाउभन्दा दुई रुपियाँ कम भएको खबरले संस्थानतिरै लोभिएकी बताउँछिन् ।

प्रतिक्रिया