पुलिसलाई उपाधि

कैलाली, १५ पुस । धनगढीमा शनिबार सम्पन्न प्रथम राष्ट्रिय महिला फुटबल लिग प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल(एपिएफ)क्लबलाई हराउँदै नेपाल पुलिस क्लब (एनपिसी) ले जितेको छ । । यसअघि शीर्षस्थानमा रहेको प्रतिद्धन्द्वी विभागीय टिम एपिएफ लाई १–० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । एनपिसिकी चन्द्रा भण्डारीले खेलको १५औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गरेकी थिइन् । जितसँगै पुलिसले एपिएफलाई १ अंकले पछि पार्‍यो । पुलिसको १९ अंक भयो भने एपिएफ १८ अंकमा सीमित भयो । महिला फुटबलमा एपिएफविरुद्ध पुलिसले पहिलो पटक जित निकाल्न सफल भएको छ । जितसँगै पुलिसले ३ लाख रुपियाँ पायो भने एपिएफले डेढ लाख रुपियाँ पायो ।

पुलिसकी फर्वार्ड चन्द्रा भण्डारी प्रतियोगिताकी वेस्ट प्लेयर भइन् । उनले यसवापत स्कुटर पाइन् । भण्डारी कैलालीको घुइँयाघाटकी हुन् । त्यस्तै उत्कृष्ट गोलरक्षक तथा प्रशिक्षकको उपाधि पनि पुलिसका क्रमश: नमिता दली र सन्देश श्रेष्ठले जिते । दुवै जनाले समान २५ हजार रुपियाँ पाए । उत्कृष्ट फर्वार्ड एपिएफकी अनु लामा, उत्कृष्ट मिडफिल्डर आर्मीकी मेनुका नगरकोटी र उत्कृष्ट डिफेन्डर सुदूरपश्चिमान्चलकी अमृता जैसी भए ।

प्रतिक्रिया