एकदिवसीयपछि टी–ट्वान्टीमा पनि एपिएफ विजेता

काठमाडौं : नेपाल पुलिसले सहभागिता जनाउन छाडेपछि राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक्लो दावेदारका रूपमा देखिएको सशस्त्र प्रहरी बल (एपिएफ)ले एकदिवसीय राष्ट्रिय च्याम्पियनसिप जितेको करिब आठ दिनपछि शनिबार टी–ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पनि विजेता बनेको छ ।
शनिबार भएको फाइनलमा राष्ट्रिय टिमका सदस्यको बाहुल्य रहेको एपिएफले क्षेत्र नम्बर ६ बैतडीलाई ९५ रनले पराजित गर्‍यो । हरेक पक्षमा बैतडी एपिएफसामु निरीह बन्यो । पहिला ब्याटिङ गर्ने क्रममा एपिएफले निर्धारित २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६७ रन जोडेको थियो । विभागीय टोलीका लागि ज्ञानेन्द्र मल्लले ६९ र पारस खड्काले ५३ रन जोडे । त्यस्तै सुभाष खकुरेलले २१ र शरद भेष्वाकरले २० रन बनाए । शिवराज स्वारको बलमा आउट हुनुअघि ज्ञानेन्द्रले ५९ बलमा सात चौका र एक छक्का प्रहार गरे ।
आक्रामक इनिङ खेलेका कप्तान पारसले चन्द्र साउदको बलमा आउट हुनुअघि २६ बलमा तीन चौका र चार छक्का प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान परेस लोहनीलाई पहिलो ओभरको तेस्रो बलमा व्यक्तिगत शून्यको स्थितिमा गुमाए पनि सुभाष र ज्ञानेन्द्रबीच दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरी अनुभवी खेलाडी हुुनुको सक्दो उपयोग गरेका थिए । ज्ञानेन्द्र र पारसले तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।
तीन खेलाडी मात्र दोहोरो अंक छुन सकेपछि बैतडी १४.४ ओभरमा ७२ रनमा सीमित भयो । एपिएफका सन्जम रेग्मीले चार, शक्ति गौचनले तीन र सुनाम गौतमले दुई विकेट लिए । सन्जमले चार ओभर बलिङ गर्ने क्रममा १५ रन खर्चिए भने शक्तिले २.३ ओभरमा तीन रन दिएर उक्त सफलता हात पारेका थिए । पाँच खेलाडी शून्यमै आउट भएको बैतडीको इनिङमा कप्तान तथा विकेटकिपर विनोद भण्डारीले २४, नरेश वुढाएरले २३ र प्रेम तामाङले ११ रन जोडे ।
बैतडीको पनि सुरुआत कमजोर रह्यो । प्रारम्भिक ब्याट्सम्यान रोसन नेपालीलाई व्यक्तिगत शून्यमै गुमाए पनि त्यसपछिका लगातार तीन खेलाडीले दोहोरो अंक छोएर बैतडीको आशा कायम राखेका थिए । तर, त्यसपछिका खेलाडीको प्रदर्शन कमजोर रह्यो । शानदार इनिङ खेलेका ज्ञानेन्द्र ‘प्लेयर अफ दि म्याच’ भए । ६ खेलमा दुई अर्धशतकसहित २७४ रन जोडेका एपिएफका विकेटकिपर सुभाष खकुरेल ‘प्लेयर अफ दि सिरिज’ र वेस्ट ब्याट्सम्यान भए । त्यस्तै, चार खेलमा ११ विकेट लिएका पोखराका राहुलकुमार विश्वकर्मा ‘बेस्ट बलर’ भए । पाँच खेलमा नौ विकेट लिएका बैतडीका विनोद लामा ‘इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्ट’ भए । (सौस)

प्रतिक्रिया