प्रधानमन्त्रीको लोभ छैन : कोइराला

हेटौंडा : नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आफूलाई प्रधानमन्त्री बन्ने कुनै लालसा नभएको बताएका छन् । नेपाल जेसिजको ३९औँ राष्ट्रिय महाधिवेशनको हेटौंडामा उद्घाटन गर्दै कोइरालाले सबै पार्टी सहमत हुने भनेकाले पार्टीले आफूलाई प्रधानमन्त्रीका रूपमा अघि सारेको प्रष्ट पारे । ‘मलाई प्रधानमन्त्री बन्ने कुनै लालसा छैन, उतैबाट प्रस्ताव आएपछि पार्टीले सर्वसम्मत निर्णय गरेर मलाई अघि सारेको हो,’ एकीकृत माओवादीतर्फ संकेत गर्दै कोइरालाले भने । अहिले माओवादीले कुरा फेरेर देशलाई बन्दी बनाइरहेको आरोप कोइरालाले लगाए । संघीयताका विषयमा आफूहरूले स्पष्ट विचार अघि सार्दासार्दै एमाओवादी र मधेसवादी दलहरूले संघीयताविरोधी भनेर दुष्प्रचार गरिरहेको कोइरालाले गुनासो गरे ।
कार्यक्रममा विभिन्न विधामा योगदान पुर्‍याएका १६ जनालाई सम्मानसमेत गरिएको थियो । तीन दिनसम्म चल्ने महाधिवेशनले सन् २०१३ का लागि नयाँ नेतृत्व चयन गर्नेछ । २०१३ का लागि अध्यक्ष पदमा भोलेश्वर दुलाल र सुशीलबाबु श्रेष्ठबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । महाधिवेशनले चार कार्यकारी उपाध्यक्ष र दश उपाध्यक्ष चयन गर्नेछ । महाधिवेशनमा देशभरका ६५ जिल्लामा रहेका एक सय १३ शाखाबाट प्रतिनिधि र पर्यवेक्षक गरी करिब तीन हजार युवाको सहभागिता छ । (सौस)

प्रतिक्रिया