भाग्दाभाग्दै भर्ती भएँ

०३४/३५ सालतिर राजनीतिक परिवर्तनमा सक्रिय हुँदा मलाई पक्राउका लागि वारेन्ट जारी भयो । मेरो नाममा वारेन्ट जारी भएपछि काठमाडौं छाडी गाउँ गएँ । त्यही क्रममा गल्ला खुलेको थाहा पाएँ । गल्लामा ट्राई गर्दा गेटपास पाएँ । वारेन्ट त क्याम्पसम्म पनि पुगेको रहेछ । तर, क्याप्टेन मानबहादुर लिम्बूले त्यो वारेन्ट फरवार्ड नगरेका रहेछन् । क्याप्टेन लिम्बूले मलाई ‘के बदमासी गरेका छौ भगवान’ भनेर सोधेका थिए । मैले केही होइन भनेँ । त्यसपछि उनले वारेन्ट देखाएका थिए । तर, त्यसपछि वारेन्ट फरवार्ड नहुँदा भर्ती भएँ ।
ब्रिटिस गोर्खा सैनिक भएपछि कठोर शारीरिक परिश्रम गर्दा नेपाल फर्कन मन लागेको थियो । तर, मैले नेपाल फर्काउन आग्रह गर्दा उल्टै सजाय पो पाएँ । भाग्न सम्भव थिएन । हरियो पर्खालबाहिर जान प्रतिबन्ध थियो । जहाज चढ्ने ज्ञान पनि थिएन । छुट्टीमा घर आएपछि नफर्किने सोच पनि बनाएको हुँ । तर, नेपालमा बसेर पढ्नुको विकल्प नै थिएन । साथीहरू पढाइमा अगाडि बढिसकेकाले पढ्न पनि मन लागेन । भर्ती लागेपछि सुरुमा त पछुतो नै लाग्यो । पछि भने रमाइलो लाग्दै गयो ।
सेनामा रहँदा ०३७/३८ सालतिर ‘जीवन हाम्रो सङ्लो पानी हो सलल राजै खोलाभैँm बगौँ सलल’ भन्ने गीतले चर्चा पाएको सुन्दा छटपटी भयो । धुलाबारी मावि झापामा पढ्दाका सहपाठी विनोद गुरुङले उक्त गीत गाएका थिए । मलाई सानै उमेरदेखि गीत गाउने सोख थियो । सैनिक सेवाकै क्रममा पनि मैले गीत गाउने अवसर भने नपाएको होइन । तर, पार्टी आयोजना हुनासाथ मलाई गीत गाउन लगाउने अनि त्यसपछि बिर्सिदिने । त्यतिमात्र कहाँ हो र † ‘मेरो कोठामा गिटार देखेपछि भगवान त सोल्जर होइन सिभिलजस्तो छ । उसलाई कारबाही गर्नुपर्छ’ भन्ने कम्प्लेन साथीहरूले नै गरेछन् । त्यसपछि मैले गीतसंगीतलाई थाती राखिदिएँ । रिटायर्ड भएपछि भने गीतसंगीतलाई निरन्तरता दिँदै आएको छु । मैले ‘नजर’, ‘रहर’, ‘सम्झेनजिक’, ‘सौगात’, ‘साकेला’ गरी पाँचवटा एल्बम निकालिसकेको छु । मेरो एउटा कविता संग्रह पनि प्रकाशित छ ।
०३६ सालमा भर्ती लागेपछि मैले ब्रिटिस सेनाको सेभेन गोर्खा राइफलमा रहेर हङकङ, बेलायत, ब्रुनाई, अस्ट्रेलियालगायत थुप्रै मुलुकमा सेवा गरेँ । सन् १९९३ मा सोल्जरबाटै रिटायर्ड भएँ । मेरा बाजे बखतलाल हवल्दार र बुवा बखतबहादुर ब्रिटिस सेनामा मेजर बन्नुभएको थियो । राजनीतिक चेतना भएको व्यक्तिलाई सेनामा बढुवा हुन गाह्रो रहेछ । ‘चेन अफ कमान्ड’को नाममा आदेशको पालना गर्नै पर्ने । राजनीतिलाई निरन्तरता दिन नसकेकामा असन्तुष्टि छ । रिटायर्ड भएपछि सामाजिक तथा राजनीतिक संघसंगठनमा सक्रिय छु ।
रिटायर्डं भएपछि केही समय हङकङ बसेँ । सन् २००४ देखि भने युकेमा बस्दै आएको छु । मेरो जन्म ०१७ सालमा हङकङको ताक्नी क्याम्पमा भएको हो । खोटाङको सिप्रिङ स्थायी थलो हो । प्रारम्भिक शिक्षा हङकङबाट लिई खोटाङ माविबाट कक्षा ७ र धुलाबारी मावि झापाबाट एसएलसी गरेँ । लक्किली लाहुरे भएपछि शिक्षालाई निरन्तरता दिन सकिनँ । वर्किङ कलेजमा भर्ना भएर पढ्ने धोका पूरा गर्दै छु ।
(सचित राईसँगको वार्तामा आधारित)

प्रतिक्रिया