मानसिक रोगी कैदीबीच कुटाकुट, एकको मृत्यु

काभ्रे, १३  पुस । जिल्ला कारागार शाखा धुलिखेलमा कैदसजाय भोगिरहेका मानसिक रोगी दुई कैदीबीच कुटाकुट हुँदा बुधबार राति एकको मृत्यु भएको छ । आफ्नै आमाको हत्यामा जेल परेका पुर्काेट, तनहुँका हरि सापकोटाको सँगै सुतेका रसुवा धैबुङ–१ इटरेका १९ वर्षीय श्रीनेपाल भनिने कुमार नेपालीसित कुटपिट हुँदा नेपाली मारिएका हुन् ।
रातको साढे आठ बजेतिर कैदीबन्दीहरू खाना खाएर सुतिसकेका थिए । एक्कासि कारागारभित्र होहल्लाको आवाज आयो । मानसिक रोग भएका कैदीबन्दीहरू प्राय: चिच्याउने भएकाले घटनालाई अन्य कैदीहरूले सामान्य रूपमा लिए । कारागार सुरक्षाका लागि बुर्जामा रहेका प्रहरीले भने डाङडुङ भएको सुनेलगत्तै चौकीदार रेतबहादुर सापकोटालाई खबर गरेका थिए ।
सापकोटाले प्रहरी सहायक निरीक्षक नारायण सुनुवारलाई खबर गरे । सुनुवारसहितको प्रहरी टोली भित्र पुग्दा ढोकामा नेपाली लडिरहेका थिए । बेहोस अवस्थामा ढलेका उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा धुलिखेल अस्पतालतिर लगिए पनि बाटैमा मृत्यु भएपछि शवलाई बनेपास्थित शिरमेमोरियल अस्पतालमा राखिएको थियो । बिहीबार शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ ।
जेलभित्रका स्वस्थ कैदीले नेपाली र सापकोटाको झगडा सुनेको बताए । सापकोटा आपैँm मानसिक रोगी भएकाले सन्तुलनका कुरा गर्दैनन् । उनी नियमित रूपमा औषधी खाँदै आएका छन् । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका डिएसपीको संयोजकत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालले जानकारी दिए । समितिमा डिएसपी कृष्णजी अधिकारी संयोजक तथा कारागारका प्रमुख जेलर मातृका दाहाल र राष्ट्रिय अनुसन्धान अधिकृत निरञ्जन घिमिरे सदस्य रहेका छन् । समितिले ७ दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउनेछ ।
रसुवा जिल्लामा विभिन्न अपराध गरी पाँचवटा मुद्दा लागेका नेपालीलाई रसुवा जिल्ला अदालतले २०६८ चैत १२ गते नकबजी (चोरी) मुद्दामा एक वर्ष ६ महिना कैद र एक लाख ६ हजार आठ सय ३० जरिवाना तोकेको थियो । नेपालीले जरिवाना तिर्न नसकेपछि कैद सजाय पाँच वर्ष ६ महिना अर्थात् २०७४ साल जेठ ६ गतेसम्म तोकिएको थियो । मानसिक रोगी भएकाले उनलाई पुस ९ गते मात्रै रसुवा कारागारबाट धुलिखेल जेल स्थानान्तरण गरिएको हो ।
रसुवा जिल्ला कारागारले त्यहाँ रहँदा सामान्य अवस्थाका कैदीमाथि आक्रमण गरिरहेकाले नेपालीलाई ४ पुसमा जिल्ला अस्पताल रसुवामा उपचारका लागि लगेको जनाएको छ । उपचारमा संलग्न चिकित्सकले नेपालीले असामान्य व्यवहार देखाएको तथा कराउने, चिच्याउने क्रियाकलाप गरेकाले मानसिक सन्तुलन गुमाएको बताएका थिए । त्यसपछि रसुवाबाट धुलिखेल जेलमा ल्याइएका नेपालीलाई चितवन पार्वतीपुर–६ का कुमबहादुर कामी र तनहुँका हरि सापकोटासँग एउटै कोठामा राखिएको थियो । मानसिक सन्तुलन गुमाएका कैदीहरूलाई धुलिखेल जेलमा राख्ने गरिएको छ । ६० जना क्षमताको सो जेलमा एक सय ६५ जना कैदीबन्दी छन् । तीमध्ये ३१ जना मानसिक रोगी भएको जेलर मातृकाप्रसाद दाहालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख एसपी गीता उप्रेतीले जेलभित्र भएको घटनाको सत्यतथ्य छानबिन गरी समितिले प्रतिवेदन तयार गर्ने ‘दुवै मानसिक रोगी भएकाले अनुसन्धान नगरी भन्न सकिने अवस्था छैन, हामीले थाहा पाउनेबित्तिकै उपचारका लागि लग्यौँ तर उनको निधन भयो,’ उप्रेतीले भनिन् । ६ महिनाअघि पनि जिल्ला कारागार शाखा धुलिखेलमा एक मानसिक रोगी कैदीको मृत्यु भएको थियो ।

प्रतिक्रिया