नेविसंघ कार्यालयमा तोडफोड

काठमाडौं : कांग्रेस भ्रातृसंगठन नेपाल विद्यार्थी संघको महाअधिवेशनका लागि प्रतिनिधि छनोटमा विवाद हुँदा कार्यालय नै तोडफोड गरिएको छ ।
संघका पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेमाथि आक्रमण भएपछि आक्रोशित विद्यार्थी समूहले बिहीबार संघको पुतलीसडकस्थित केन्द्रीय कार्यालय तोडफोड गरेको हो । तोडफोडबाट संघको कार्यालय पूरै क्षतिग्रस्त भएको छ । संघका प्रवक्ता युपी लामिछानेले काफ्ले समूहले संघको कार्यालय पूर्णरूपमा ध्वस्त हुनेगरी तोडफोड गरेको बताए । ‘कार्यालयका सबै सामान तोडफोड गरिएको छ,’ प्रवक्ता लामिछानेले भने, ‘कार्पेटबाहेक केही बाँकी छैन ।’
उक्त समूहले पूर्वकोषाध्यक्षलाई संस्थापन पक्षले आक्रमण गरेको भन्दै कार्यालय तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर फोटोकपी मेसिन, कुर्सीटेबल तथा कागजात सबै क्षतिग्रस्त भएका छन् । करिब तीन लाख बराबरको क्षति भएको लामिछानेले जानकारी दिए ।
बिहीबार एड्भान्स इन्जिनियरिङ कलेज कोपुन्डोलमा महाधिवेशन प्रतिनिधि छनोट गर्दा संस्थापन र काफ्ले पक्षबीच झडप भएको थियो । काफ्लेले संघले खटाएका प्रतिनिधि सुरेन्द्र लौडारी नभएका बेला बलजफ्ती प्रतिनिधि छनोट गर्दा झडप भएको लामिछानेले बताए । झडपमा काफ्लेसहित केही घाइते भएका छन् । (सौस)

प्रतिक्रिया