गाविस सचिवलाई मासिक थप १५ सय भत्ता

काठमाडौं : १३ पुस । सरकारले गाउँ विकास समितिका सचिवलाई मासिक एक हजार पाँच सय भत्ता दिने भएको छ । गाविसका कामलाई प्रभावकारी रूपमा अघि बढाउन र सम्बन्धित क्षेत्रमै गएर काम गर्ने माहोल बनाउन भन्दै सरकारले मासिक भत्ता दिने निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपषिद् बैठकले कार्यक्षेत्रमा जाने र तोकिएको काम गर्ने गाविस सचिवलाई मासिक एक हजार पाँच सय रुपियाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । भत्ताले गाविस सचिवको काममा ऊर्जा थपिने विश्वास लिइएको मन्त्री यादवले बताए ।
मन्त्री यादवका अनुसार बैठकले गणतन्त्रको मर्मअनुसार विभिन्न १६ वटा नियमावली संशोधन गरेको छ । त्यस्तै, न्याय सेवा गठन समूह तथा श्रेणी विभाजन, नियुक्ति, सरुवा, बढुवा नियमावलीको तेस्रो संशोधन २०६९ पनि सरकारले स्वीकृत गरेको छ ।
सेनापतिको भारत भ्रमणलाई स्वीकृति
बैठकले प्रधानसेनापति गौरवशमशेर राणाको भारत भ्रमणलाई पनि स्वीकृति दिएको छ । त्यस्तै, राष्ट्रिय मदरसा शिक्षा परिषद्को अध्यक्षमा नेपालगन्जका मन्सुर अहमदलाई नियुक्त गरिएको छ । बैठकले सञ्चार मन्त्रालयको सल्लाहकारमा शिवप्रसाद अधिकारी र नेपाल टेलिभिजनको अध्यक्षमा सीताराम अग्रवाललाई नियुक्त गरेको मन्त्री यादवले जानकारी दिए । (सौस)

प्रतिक्रिया