संविधानसभा व्युताउन पहल गर्ने

काठमाडौं, १२ पुस । संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विघठित संविधानसभा व्युताउनका लागि पहल गर्नु पर्ने ठहर गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा धारणा राख्ने अधिकांश नेताले संविधानसभा पुनःस्थापनाका लागि पहल गर्नुपर्ने बताए । बैठकका एक सहभागीका अनुसार उनीहरुले मुलुकलाई निकास दिन संविधानसभा पुनःस्थापना उपयुक्त हुने जनाएका हुन् ।
एमाओवादी, मधेसी मोर्चा र केही साना दलहरुले संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधान जारी गर्दा उपयुक्त हुने बताएका हुन् । बाँकी केही साना दलहरुले भने संविधानसभा पुनःस्थापना भन्दा नयाँ निर्वाचनमा जान प्रस्ताव गरे ।
मधेसी मोर्चाका नेता विजय गच्छेदारले संविधानसभा व्युताउँनु भन्दा नयाँ निर्वाचन गर्नुपर्ने बताए । ‘संविधानसभा व्युताउनु हुँदैन,’ उनले भने, ‘जसरी हुँन्छ नयाँ निर्वाचन गर्नु पर्छ ।’
बैठकले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने निर्णय गरेको जनता दल युनाईटेडका कार्यबाहक अध्यक्ष किरण मगर ‘स्वामी’ले जानकारी दिए । ‘प्रधानमन्त्री बाबुराम भट्टराईकै सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन निर्णय भएको छ,’ उनले भने, ‘यहि सरकारलाई राष्ट्रिय सरकार बनाउन नसकिएमा स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्रीका लागि पहल गर्ने छौं ।’

प्रतिक्रिया